अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

छोराको सत्य तथा न्यायका लागि एक आमाको अपील


प्रत्येक वर्ष जेठ २४ आउँदा म कस्तो अनुभूति गर्छु, मैले विगत १७ वर्षमा के कस्तो पीडा भोग्नुपरेको छ, न्यायको खोजीमा मैले के अनुभव गरें भनी म हजुरहरूको जानकारीका लागि पुनः लेखिरहेकी छु । एक निर्दोष बालक मारिने र उसको न्यायका लागि अनशन बस्ने क्रममा पिताको मृत्यु हुने देशमा न्याय प्रणाली ध्वस्त नहोस् भनी म संघर्षरत छु र तपाईंहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गरिरहेकी छु ।

तपाईंहरूमध्ये धेरैलाई थाहा छ, मेरो १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले २४ जेठ २०६१ मा अपहरणपश्चात् चितवनको बकुल्लहर चोकमा निर्ममतापूर्वक हत्या गरेका थिए । त्यस दिनदेखि आजसम्म सत्य र न्यायका लागि अथक संघर्ष गरिरहेकी छु ।

आफ्नो प्यारो छोरो निर्ममतापूर्वक मारिएको थाहा पाउनु जस्तो पीडा आमाबुवालाई अरू केही हुन सक्दैन । तर घटनाको अनुसन्धानमा सहयोग गर्ने, घटनाको सत्यतथ्य स्थापित गर्ने र घटनामा जिम्मेवार रहेकाहरूलाई सजाय दिने व्यक्ति र निकायले नै अपराधीहरूलाई संरक्षण गरेको देख्दा थप पीडित भएको महसूस गरेकी छु । । आफूले केही गर्न नसकेको, उल्टो आफ्नो परिवार, घर, सपना, भविष्य सबै भताभुङ्ग भएको तथा नमरुन्जेलसम्म पीडा र कष्ट भोग्नुपरेको अवस्था छ ।

सोह्र वर्षअघि मेरा पति नन्दप्रसाद अधिकारी र मलाई गोरखा फुजेलको घर छोड्न बाध्य बनाइयो । हामीले विभिन्न संघसंस्था, र सरकारलाई आफ्नो पीडादायी कथाव्यथा सुनाउँदा हामीलाई न्याय दिनका लागि पहल गरिन्छ कि भनी हामीले आशा गरेका थियौं । दुर्भाग्यवश, मैले आफ्नो पीडा सुनाउँदा सबैले सहानुभूति व्यक्त गरे तर अरू केही पनि ठोस काम गरेनन् किनकि मेरो छोरालाई मार्ने व्यक्तिहरू माओवादी पार्टीका कार्यकर्ता थिए र उनीहरू शक्ति र सत्तामा थिए ।

सोह्र वर्षदेखि म एउटा सामान्य प्रश्नको उत्तर खोजिरहेकी छु : माओवादी पार्टीका कार्यकर्ता कानूनभन्दा माथि छन् ? हाम्रो संविधानले यसै भन्छ ? नेपालको कानूनले यसै भन्छ ? मानवअधिकारवादी संगठनहरूले यसलाई समर्थन गर्छन् ? संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले यसैलाई समर्थन गर्छन् ?

सोह्र वर्षअघि मेरा पति नन्दप्रसाद अधिकारी र मलाई गोरखा फुजेलको घर छोड्न बाध्य बनाइयो । हामीले विभिन्न संघसंस्था, र सरकारलाई आफ्नो पीडादायी कथाव्यथा सुनाउँदा हामीलाई न्याय दिनका लागि पहल गरिन्छ कि भनी हामीले आशा गरेका थियौं । दुर्भाग्यवश, मैले आफ्नो पीडा सुनाउँदा सबैले सहानुभूति व्यक्त गरे तर अरू केही पनि ठोस काम गरेनन् किनकि मेरो छोरालाई मार्ने व्यक्तिहरू माओवादी पार्टीका कार्यकर्ता थिए र उनीहरू शक्ति र सत्तामा थिए ।

घटनाको अनुसन्धान गरिएको र हत्याका लागि जिम्मेवार रहेका व्यक्तिहरूका विरुद्ध मुद्दा दायर गरिएको भनी मलाई बताइएको थियो । अहिले आएर घटनामा संलग्न थिएनन् भनि अदालतले सबैलाई सफाइ दिएको भनी मलाई बताइएको छ । त्यसोभए मेरो छोराको अपहरण, यातना र हत्यामा को को संलग्न थियो त ? मलाई सत्य बताउनुपर्छ । घटनालाई ढाकछोप गर्न र पीडकलाई कानूनी कारबाहीबाट जोगाउन नभई सत्य पत्ता लगाउने तथा वास्तविक पीडकहरूलाई न्यायको दायरामा ल्याउने उद्देश्यका साथ यस घटनाको पुनः अनुसन्धान गरिएको देख्न मेरा लागि आवश्यक छ ।

म कसैसँग प्रतिशोध लिन खोजिरहेकी छैन । मेरो छोरालाई अपहरण गर्नेलाई म अपहरण गर्न खोजिरहेकी छैन, उनीहरूले छोरालाई यातना दिए जस्तो गरी म यातना दिन खोजिरहेकी छैन, उनीहरूले मेरो छोराको हत्या गरे जस्तो म उनीहरूको हत्या गर्न खोजिरहेकी छैन र अहिले मैले भोग्नुपरेको जस्तो पीडा उनीहरूले भोग्नुपरोस् भनी चाहेकी पनि छैन । म न्यायको खोजी गरिरहेकी छु, कसले छोराको हत्या गरेको हो भन्ने सत्यतथ्य जान्न खोजिरहेकी छु र हत्यामा संलग्न रहेकाहरूलाई कानूनबमोजिम कारवाही गराउन खोजिरहेकी छु ।

राज्यको कुनै पनि निकायले हाम्रो कुरा नसुनेपछि, हाम्रो पीडालाई वास्ता नगरेपछि मेरा पति र मैले २०६८ माघ २२ गते देखि सत्याग्रहको एक अंगका रूपमा आमरण अनशन शुरू गरेका थियौं । घटनाको अनुसन्धानमा कुनै प्रगति भएन भने अनशनकै क्रममा २०७१ असोज ६ गते मेरा पतिको मृत्यु भयो । मैले माया गरेका अर्का एक व्यक्ति राज्यको व्यवहारको कारण गुमाउनुपर्‍यो । म आफ्नो पीडा र कष्ट व्याख्या गर्न सक्दिनँ । तर मेरो मृत्यु हुनुअघि मैले छोराको हत्याको विषयमा सत्यतथ्य जान्ने आशा कायम राखेकी छु । न्यायको खोजीमा लागिरहने मेरो प्रण किञ्चित् पनि डगमगाएको छैन । सत्य पत्ता लगाउने विषयमा म थप प्रतिबद्ध तथा दृढप्रतिज्ञ बनेकी छु र अनेकौं बाधाव्यवधानका वावजुद पनि संघर्ष जारी राखिरहेकी छु ।

मसँगै उभिन हिम्मत राख्ने तथा न्यायको प्राप्तिका लागि मैले गरेको संघर्षलाई आफ्नै संघर्षका रूपमा लिई मलाई हरसम्भव तरिकाले प्रोत्साहन तथा समर्थन गर्ने अधिवक्ता, मानवअधिकारवादी संघसंस्था तथा शुभचिन्तकहरूप्रति म अत्यन्तै आभारी छु । मेरो छोराको हत्या घटनाको स्वतन्त्र तथा सक्षम विज्ञहरूको टोलीबाट पुनः अनुसन्धान गराउनका लागि आवश्यक कानूनी सहयोग जुटाउन अधिवक्ता तथा शुभचिन्तकहरू समक्ष म फेरि एकपटक अपील गर्न चाहन्छु । यसका अलावा घटनाको पुनः अनुसन्धान गर्न तथा सबै पीडकलाई न्यायको दायरामा ल्याउनका लागि सहयोग गर्न म सबै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन तथा संयुक्त राष्ट्रसंघसमक्ष आह्वान गर्दछु ।

आफना प्रिय निर्दोष छोराछोरी तथा आफन्त मारिएका तर न्यायका लागि संघर्ष गर्न नसकेका सबै आमाबुवा तथा आफन्तजनको पीडा अनुभव गर्न म सरोकारवाला व्यक्ति तथा संस्थाहरूसमक्ष अपील गर्दछु । तपाईंहरूको समर्थन तथा सहयोगका साथ म सबै बाधाव्यवधानका बावजूद मेरो छोराको हत्या गर्ने दोषीहरूलाई न्यायको दायरामा नल्याउन्जेलसम्मका लागि संघर्ष गरिरहनेछु । त्यसपछि मात्र मेरो छोरा र पतिको आत्माले शान्ति पाउनेछन् ।

वीर अस्पताल, काठमाडौं
२४ जेष्ठ २०७८