अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

नेपालको जनसांख्यिक संरचना : दक्षिण एसियाली ‘टाइगर’ बन्ने सम्भावना


कोरोना महामारी थिएन भने नेपालमा अहिले जनगणनाका लागि करिब ४२ हजार गणकहरु घरघरमा तथ्यांक संकलन गर्न पुगेका हुन्थे । जेठ २५ देखि असार ८ सम्म हुने तथ्यांक संकलनले नेपालको भावी मार्ग चित्र कोर्ने एउटा महत्वपूर्ण मार्ग चित्र हुने थियो । कोरोना महामारी नियन्त्रणमा आउने वित्तिकै जनगणना प्रक्रिया फेरि सुरु हुने नै छ । यसले नेपालको जनसंख्याका नयाँ नयाँ विशेषताहरु उजागर गर्नेछ । जसले हामीलाई भावी नीति निर्माण बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यस आलेखमा नेपालका विगतका जनगणनाहरुले दिएका नतिजाका आधारमा युवा र ज्येष्ठ नागरिकको अवस्था के कस्तो छ भन्ने कुराको विष्लेषण गरिएको छ ।

युवा र ज्येष्ठको परिभाषा बदलौं

संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनी परिभाषित गरेको भए पनि नेपालको युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरूलाई युवाकोरूपमा परिभाषित गरेको छ । जनसाङ्ख्यिकीय दष्टिकोणले २० वर्ष पुगेको युवा र ४० वर्ष पुगेको वयस्क व्यक्तिका विशेषता एकै प्रकारका हुँदैनन् । एकातर्फ २० वर्ष पुगेको युवाले छोराछोरी पाइरहेको अवस्था हुन सक्ला भने उता ४० वर्ष पुगेको वयस्कले नातिनातिना जन्माउने अवस्था देखा पर्ला । यति लामो उमेर समूहलाई एउटै परिभाषाभित्र अटाउन खोज्दा राष्टसंघले परिभाषित गरेका वास्तविक युवा ओझेलमा पर्न सक्छन् । यसले जनसङ्ख्या सन्तुलनमा पनि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्ने नै छ । पारिवारिक र सामाजिक सम्वन्धका आधारमा युवा र जेष्ठ नागरिक बीच तीन पुस्ता अर्थात नाति नातिना र हजुरबा, हजुरआमाको सम्बन्ध हुन्छ । यसरी ४० वर्ष उमेर पुगेका बयस्कलाई पनि युवा नै भन्ने हो भने जेष्ठ नागरिक र युवा बीच रहनुपर्ने तीन पुस्ते सम्बन्धमा पनि असर पुग्ने देखिन्छ, किनभने २० वर्ष र ४० वर्षका विवाहित दम्पतिले सन्तान पाउँदा पनि पुस्ता त एउटै हुने भयो तर इच्छा र आवश्यकता फरक परक हुन सक्लान् ।

युवा हुने रहर सबैलाई हुन्छ । त्यसैले ४० वर्ष पुग्दा सम्म युवा नै हुन पाए हुन्थ्यो भन्ने पनि सबैलाई लाग्नु स्वभाविकै हो । तर विश्वका अरू देशहरूमा भने २४ वर्षलाई नै युवा उमेरमा सीमित गरेर सो भन्दा माथिको जनसङ्ख्यालाई वयस्कमा राख्ने गरिएको छ । ज्येष्ठ नागरिकका सम्बन्धमा पनि युवाको दर्जा स्थापित गर्नु पर्छ भन्ने तर्कहरू अघि सारिएको छ । राष्ट्रसंघले ६० देखि ७४ वर्षका ज्येष्ठ नागरिकलाई युवा ज्येष्ठ (young-old) र ७५ वर्ष माथिको समूहलाई ज्येष्ठ ज्येष्ठ अर्थात जेष्ठ श्रेष्ठ (old-old) का रूपमा परिभाषित गरेको छ । तर पनि कतिपय सन्दर्भमा ५० वर्ष लाग्दा नलाग्दा मानिसले आफूलाई बुढ्यौलीले छोएको समेत तर्क गर्ने गर्दछन् । यस्तो अवस्थामा ५० देखि ७० वर्षको उमेर समूह (young-old) अर्थात युवा ज्येष्ठ, ७१ देखि ८० उमेर समूह (adult -old) अर्थात वयस्क ज्येष्ठ, र ८१ वर्ष माथिको समूह old -old अर्थात ज्येष्ठ ज्येष्ठ अर्थात ज्येष्ठ श्रेष्ठ भन्नु पर्ने हाम्रो सन्दर्भमा आवश्यक देखिन्छ ।

ज्येष्ठ नागरिकका सम्बन्धमा गरिने यो नयाँ प्रकृतिको परिभाषाले एकातिर ढल्कदो उमेरका पाका व्यक्तिहरूलाई कति वृद्ध, कति युवा र कति वयस्क–वृद्ध थाहा पाउन सजिलो पर्नेछ । त्यसमाथि पनि युवा उमेरमा जस्तै वृद्ध उमेरमा पनि फरकफरक इच्छा र चाहना हुन्छन् भन्ने कुरालाई यसको प्रकारको उमेर समूह विभाजनले थप जानकारी प्रदान गर्नेछ ।

४० वर्ष उमेर पुगेका बयस्कलाई पनि युवा नै भन्ने हो भने जेष्ठ नागरिक र युवा बीच रहनुपर्ने तीन पुस्ते सम्बन्धमा पनि असर पुग्ने देखिन्छ, किनभने २० वर्ष र ४० वर्षका विवाहित दम्पतिले सन्तान पाउँदा पनि पुस्ता त एउटै हुने भयो तर इच्छा र आवश्यकता फरक परक हुन सक्लान् ।

त्यस्तै १६ देखि ४० वर्षको उमेर समूहलाई नै युवा भनिने हो भने यो समूहको पनि वर्गीकरण आवश्यक छ जसअनुसार १६ देखि २४ र २५ देखि ४० गरी दुई समूहमा विभाजन गरी नीति तथा कार्यक्रमले सम्वोधन गरिनु पर्दछ ।

जनसांख्यिकीय दृष्टिकोणले युवा र जेष्ठ नागरिकबीच सम्बन्धमा तीन पुस्ते हुनका साथै संख्यामा पनि विपरीत सम्वन्ध स्थापित भइरहेको हुन्छ । जनसङ्ख्याको बढ्दो वृद्धिदरमा युवाको संख्या बढी हुने र ज्येष्ठ नागरिकको संख्या घटी हुने स्थिति देखापर्दछ । त्यस्तै जब जनसङ्ख्या घट्दो दरमा वद्धि हुदै जान्छ, त्यसबेला ज्येष्ठ नागरिकको संख्या पनि बढ्दै जान्छ । विश्वका विकशित र विकाशोन्मुख मुलुकको ज्येष्ठ नागरिक र १५ वर्ष मुनिको जनसङ्ख्याको तथ्यांकीय विष्लेषणले यही सत्य स्थापित गर्दछ ।

पुस्तेउली विश्लेषणबाट नै प्रष्ट हुन्छ, हाल नेपालको जनसङ्ख्यामा युवाको बाहुल्यता छ, जहाँ २० वर्ष मुनीको जनसङ्ख्या नै ४८ प्रतिशत धन्दा बढी छ । त्यसैले पनि अहिले नेपाललाई युवा जनसंख्याको देश भनिन्छ ।

जनसंख्यामा आएको यो परिवर्तनले विकास, निर्माण तथा समग्र योजना निर्माणमा के मा कस्तो असर पर्ला भनी विश्लेषण गरिनु आवश्यक हुन्छ । अहिलेको सन्दर्भमा जनसंख्याको संरचनामा आएको परिवर्तनले मुख्यतया योजना निर्माणमा नै मुख्य असर पर्छ । तीब्र रूपमा बढेको काम गर्ने उमेरको जनसङ्ख्याले बेरोजगारी निम्त्याउँछ । यसैकारण पनि संख्यामा बढेका तर स्वदेशमा नै काम पाउन नसकेका युवाहरू कमकै लागि विदेश पलायन हुने प्रवृति दिनप्रतिदिन बढ्दो छ ।

युवाको जनसङ्ख्या बाहुल्यता रहेको अवस्थालाई ‘पपुलेसन वीन्डो’को अवधि भनिन्छ । जति युवाको संख्या बढ्छ, त्यति नै राम्रो बोनस पाइन्छ भन्ने विश्लेषण जनसङ्ख्याशास्त्रीहरू बीच रहेको छ । यसरी बाहुल्यमा रहेका युवालाई राम्रो रोजगारी स्वदेशमा नै उपलब्ध गराउन सके राज्यले राम्रै लाभ पाउन सक्दो रहेछ भन्ने सिकाइ पूर्वी एसियाली र दक्षिण अमेरिकी देशहरूबाट भएको छ । पूर्वी एसियाका हङकङ, सिङ्गापूर, मलेसिया, ताइवान जस्ता देशहरूले ८० र ९० बीचको दशकमा प्राप्त गरेको पपुलेसन डिभिडेण्डको सही सदुपयोग गर्नाले नै आर्थिक क्षेत्रमा ठूलो फड्को मारेका हुन् । द्रुततर गतिमा हासिल गरेका आर्थिक विकासका कारणले नै यी देशहरू अन्य एसियाली देशहरूको तुलनामा एसिएन टाइगर बन्न पुगे । त्यस्तै ब्राजिल, अर्जेन्टिना, चिली, कोलम्बिया जस्ता दक्षिण अमेरिकी देशहरू पनि जनसङ्ख्या संक्रमणको बाटोबाट गुज्रेर तिव्रत्तर विकसको बाटोमा लम्किरहेका देखिन्छन् ।

युवाको महत्व देशले बुझेन

यता दक्षिण एसियाली मुलुक नेपालमा भने अहिले प्राप्त भइरहेको जनसाङ्ख्यिक लाभ अर्थात वोनसको अवधारणा बुझ्न बुभाउन नसकेर नै युवाहरू कौडीको मूल्यमा विदेशिनु परेको छ । उनीहरूले पठाएको आर्थिक उपार्जनका कारण नै संकलित रेमिट्यान्सले देशका सारा विकास निर्माणका कामहरू सफल हुँदै आएका छन् । राजस्व बढेर देश आत्मनिर्भरता तर्फ उन्मुख भइरहेको छ । सन् २००१ यता मात्र ३० लाख भन्दा बढी मानिसहरू कामका लागि विदेशमा गएको तथ्यांकले देखाउँछ । युवाहरूको योजनाबद्ध लगानीको वातावरण नहुँदै त देश यति ठूलो राजश्व संकलन गर्न लागिरहेको छ भने युवाहरुलाई योजनाबद्ध लगानी, खास गरी स्वदेश भित्रै युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सक्ने हो भने नेपाल पनि अबको एक दशक भित्रै दक्षिण एसियाली टाइगर बन्न सक्छ ।

जेष्ठ नागरिक र जनसाङ्ख्यिक संक्रमण

केही वर्ष अघि सम्म हाम्रो देशमा पुरूषको भन्दा महिलाको औसत आयू कम रहेको थियो । चेतनाको लहरका साथै स्वास्थ्य क्षेत्रमा गर्न सकिएको क्रमिक सुधारका कारण हाल आएर नेपालको औषत आयू महिलाको ६९ बर्ष, पुरूषको ६८ बर्ष र दुवै मिलाउदा ६८ बर्ष हुन पुगेको छ । नेपालको औसत आयू द्रुत गतिमा बढेको पाइएकाले आगामी केही वर्ष भित्र नै नेपालको औसत आयुले अझ ठूलो फड्को मार्नेछ ।

पूर्वी एसियाका हङकङ, सिङ्गापूर, मलेसिया, ताइवान जस्ता देशहरूले ८० र ९० बीचको दशकमा प्राप्त गरेको पपुलेसन डिभिडेण्डको सही सदुपयोग गर्नाले नै आर्थिक क्षेत्रमा ठूलो फड्को मारेका हुन् ।

जेष्ठ नागरिकको संख्या यसरी दिन प्रतिदिन बढिरहेको छ । जेष्ठ नागरिकको जनसङ्ख्या दिनप्रतिदिन बढिरहेको नेपालमा उनीहरूको उचित हेरचाह सम्मान तथा मर्यादा राख्ने तरूण तन्नेरीहरूको आवश्यकता पनि दिन प्रतिदिन बढ्दै गएको छ । युवा र ज्येष्ठ नागरिकको जनसंख्या एकै पटक बढोत्तरी हुने अवस्थामा विश्वका मुलुकहरूमा धेरै काल पछि केवल एक समयमा आउने गर्छ, त्यो अहिलेको समयमा हामीले पाएका हौं । विकसित मुलुकहरूले यो अवसर धेरै पहिला पाए र विकासको द्रुतमार्गमा प्रवेश गरे । अव हामी पनि भन्न सक्छौं कि हामी विकासको अवसरका लागि तत्पर हुने अवस्थाको सिर्जना गरिरहेका छौं । यो नै संक्रमणको समय हो र यसले नै आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक हर क्षेत्रमा संक्रमण ल्याउँछ । त्यसैले संक्रमण स्वभाविक थियो र त्यसै भइरहेको छ नेपालमा ।

देश समृद्धितिर, नागरिक बुढ्यौलीतिर

माथि उल्लेख गरे जस्तै औसत आयु र जेष्ठ नागरिकको उमेर बीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । साधारणतया औसत आयु भनेको एक व्यक्ति सरदर कति बर्ष बाँच्छ भनि गरिएको अनुमान हो ।

जनसङ्ख्याको संरचना अनुसार द्वन्द्व एवं राजनीतिक संक्रमण घट्ने वा बढ्ने हुन्छ । जुन देशमा युवाहरूको संख्या बढी हुन्छ, त्यस देशमा राजनीतिक द्वन्द्व तीब्र हुन्छ । नेपाल अहिले त्यही नियतिमा छ ।

जुन देशको औसत आयु बढ्छ, त्यस देशमा जेष्ठ नागरिकहरूको संख्या पनि ठूलो हुन्छ । उदाहरणका लागि विश्वमा सबै भन्दा बढि औसत आयुभएको देश पश्चिम यूरोपको मोनाको हो । जहाँ महिलाको सरदर आयु ९३ बर्ष रहेको छ भने महिला र पुरूष मिलाउँदा सरदर आयु ९० वर्ष छ । त्यस देशमा ६५ वर्ष भन्दा माथिको जनसंख्या २४ प्रतिशत छ । त्यस्तै जापानमा २४ प्रतिशत जेष्ठ नागरिकहरू छन् जसको औषत आयु ८३ वर्ष रहेको छ । यता चीन द्रुततर आर्थिक विकासको बाटोमा अघि बढेको भए पनि यस देशको औषत आयु खासै बढ्न सकेको छैन । यस देशको औसत आयु ७५ वर्ष पुगेको देखिन्छ भने ६५ बर्ष माथिका जेष्ठ नागरिक ९ प्रतिशत मात्रै छन् । तर प्रवृत्तिहरूले यस देशको जेष्ठ नागरिकहरूको संख्या एकदमै तीब्र रूपमा बढ्ने देखाइ सकेका छन् ।

 

जनसाङ्ख्यिक संक्रमण र राजनीतिक द्वन्द्व

जेष्ठ नागरिक, युवा तथा यसको सम्बन्ध राजनीतिक संक्रमण वा द्वन्द्वमा प्रत्यक्ष रूपमा परिरहेको हुन्छ । यो सम्बन्ध राजनीतिक दलका नेता, कतिपय द्वन्द्व विश्लेषक एवं शान्तिकर्मीहरूले चासो नदिएको वा कतिपय अवस्थामा थाहा नै नपाएको तर महत्वपुर्ण विषय पनि हुन सक्छ । जनसङ्ख्याको संरचना अनुसार द्वन्द्व एवं राजनीतिक संक्रमण घट्ने वा बढ्ने हुन्छ । जुन देशमा युवाहरूको संख्या बढी हुन्छ, त्यस देशमा राजनीतिक द्वन्द्व तीब्र हुन्छ । नेपाल अहिले त्यही नियतिमा छ ।

युवा र ज्येष्ठ नागरिकको जनसंख्या एकै पटक बढोत्तरी हुने अवस्थामा विश्वका मुलुकहरूमा धेरै काल पछि केवल एक समयमा आउने गर्छ, त्यो अहिलेको समयमा हामीले पाएका हौं । विकसित मुलुकहरूले यो अवसर धेरै पहिला पाए र विकासको द्रुतमार्गमा प्रवेश गरे ।

यसका मुख्य दुई कारणहरू रहेका छन्-
१‍. पहिलो, बढोत्तरीमा रहेका युवाहरूलाई रोजगरी लगायतका विषयमा राज्यले तत्काल सम्बोधन गर्न सक्दैन, जसले गर्दा युवामा विरक्ति छाउँछ र यसले द्वन्द्वलाई प्रसय दिन थाल्छ ।

२. दोस्रो, युवाको संख्या बढेको बेला ज्येष्ठ नागरिकको संख्या कम हुन्छ । त्यसको अर्थ ज्येष्ठ नागरिकको अनुभव, ज्ञान तथा सीपको भरपुर उपयोग हुन पाउँदैन अनि द्वन्द्व छरपस्ट भएर अघि वढ्छ ।

यस्तै भइरहेको छ नेपालमा पनि । जति पनि द्वन्द्वहरू देखा परेका छन्, तिनका अधिकांश मुद्दाहरू युवासँग नै केन्द्रित छन्, भलै दल तथा नेताहरू यो कुरा तत्काल स्वीकार गर्न तयार नहुन पनि सक्छन् । हालैका वर्षहरूमा ज्येष्ठ नागरिकको संख्या क्रमशः बढिरहेको छ । यसको अर्थ परिपक्व जमातले युवा पुस्तालाई डो¥याउने छ र यसैले द्वन्द्व रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैले भविष्यको जीवन कोर्ने युवाहरूले राजनीतिक दलका केही नेताले भावनामा बगेर बोलेजस्तो बिना अध्ययन पस्कने द्वन्द्व रूपान्तरणको खाकालाई तुरून्त विश्वास गरिहाल्न हुँदैन । नचाहेर पनि हामीले युवा र ज्येष्ठ नागरिकको जनसङ्ख्या सन्तुलनलाई पर्खिएर मात्र द्वन्द्व रूपान्तरणको अवस्थालाई मूर्त रूप दिन सक्छौं । तबमात्र विकासको बाटोले ठोस रूप लिनेछ ।

खतिवडा समाजकल्याण परिषदका उपाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन विभागका सहप्राध्यापक हुनुहुन्छ ।