अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

काउन्टर लजिक

एमाले विवादको महारूप : पात्र, प्रवृत्ति र अबको दायित्व


नेकपा एमालेको अन्तरविरोध आजको मात्र होइन । आज त त्यो अन्तरविरोध हल हुन नसकेर प्रकट भएको मात्र हो । अहिले लामो समयदेखिको समस्या छताछुल्ल अवस्था हो । यद्यपी पार्टी खुल्ला राजनीतिमा आएपछि पार्टीको विवाद सार्वजनिक मिडिया मार्फत नै यो तहमा पोखिएको भने २०५४ साल पछि यो नै ठूलो हो । यसलाई कसैले ढाकछोप गर्नुपर्ने वा ढाकेर ढाकिने विषय पनि थिएन र अब त झन रहेन पनि । तर हामी विश्वस्त छौं राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको, इतिहासले समृद्ध नेपालका लागि जनस्तरबाट जिम्मेवारी सुम्पिएको यो पार्टी सम्हालिनेछ । एक मना एकताका साथ जनताकाबीच विशेष अभियान सहित चाँडै आइपुग्नेछ ।

हामी विशेषतः २०७७ पौष ५ गते यता नेकपा हुँदै नेकपा एमालेका विवादका सबै खाले स्वरुपहरुलाई हेरिरहेका छौं । यो विवाद हिजोसँगै काम गरेका सहयात्रीकावीच समानान्तर गतिविधिबाट एक कदम माथि गएर कतिपय स्थानमा भौतिक आक्रमणमा समेत पुगेको छ । अहिले हामी अन्तरविरोध हल गर्ने दिशामा सबै तहमा घनिभूत रुपमा लागेका छौं । कार्यकर्ता पंक्तिमा पर्ख र हेरको अवस्था रहेको छ । धेरै स्थानमा विगतमा पार्टी भित्र रहेको विगतका स्थान विशेषका फरक फरक समस्याका कारण समानान्तर कमिटी क्रियाशील रहेका छन् । लामो समयसम्म एक पक्षलाई पूर्णत निषेध गरी एक पक्षीय रुपमा चलाएका पार्टी संरचनाका विरुद्ध निर्माण भएका कमिटीहरु एक गति र बेगका साथ जनता समक्ष कार्यकर्ता पंक्ति परिचालित भई रहेका छन् । आज पनि पार्टीको आन्तरीक समस्या र हाल प्रकट विवादमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीमात्र दोषी अरु सबै महान र क्रान्तिकारी जस्तो गरी एउटा पंक्तिले आरोप लगाइरहेको छ । विशेषत पार्टीका वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल र वहाँ नजिक भनिएका कमरेडहरुबाट जसरी देशव्यापी रुपमा प्रचार गरियो र गरिंदैछ त्यसले पार्टीका समर्थक शुभचिन्तक अनि आम सर्वसाधारणका बीचमा कमरेड केपी ओली साँच्चै असहिष्णु, अनुदार तथा कम्यूनिष्ट आन्दोलनलाई कमजोर वनाउने पात्र नै पो हो की जस्तो धारणा वनाउने दिशामा लगिंदैछ । यसको सच्चाई अव सबैले सबै स्थानबाट वस्तुपरक र तथ्यपरक ढंगले राख्नै पर्ने भएको छ । अन्यथा जनता दिग्भ्रमित हुने मात्र होइन इमान संकटमा पर्ने र बेइमानको स्वर्णिम इतिहास लेखिने खतरा वढेर गएको छ । अतः इतिहास र वर्तमानका घटनाहरुलाई वस्तुनिष्ठ विश्लेषण र प्रस्तुति सबैले आ आफ्नो स्थानबाट गरौं । दोषको मात्रा कस कसको हिस्सामा कति पर्छ ? नेताहरुका भागमा कति पर्छ ? कार्यकर्ताको भागमा कति पर्छ ? ठण्डा दिमागले सोचेर सबै तहमा आ आफ्ना कार्यशैलीलाई आत्म समिक्षा गरौं अनि मात्र वर्तमानमा सम्पन्न हुन लागेको पार्टी भित्रको समस्या समाधानले स्थायी र परिणाममुखी नतिजा दिनेछ । पार्टी भित्रका अन्तरविरोधहरुलाई मित्रवत ढंगबाट निरुपण गर्न सकिन्छ ।

हामी विश्वस्त छौं राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको, इतिहासले समृद्ध नेपालका लागि जनस्तरबाट जिम्मेवारी सुम्पिएको यो पार्टी सम्हालिनेछ । एक मना एकताका साथ जनताकाबीच विशेष अभियान सहित चाँडै आइपुग्नेछ ।

म नेपालको कम्यूनिष्ट आन्दोलनमा तत्कालिन नेकपा मालेको कमिटीमा नै बसेर २०४३ साल देखि कार्यरत भएता पनि पार्टी भित्रका अन्तरविरोधहरु खुल्ला रुपमा छरिएका र अन्तरविरोधका प्रभाव र असरहरुलाई २०४७ साल देखि नियालिरहेको छु । मलाई कुनै नेता विशेषप्रति आग्रह राख्नु छैन र यो मेरा चेतनाले दिएको कम्यूनिष्ट मान्यता पनि होइन । तर आजको खुल्ला समाज त्यसमा पनि नेपाली समाज त यस्तो भइसकेको छ की कुनै समयमा कुनै सन्दर्भमा कोही व्यक्ति विशेषका बारेमा कुनै शब्द उच्चारण भयो भने त्यही शब्दलाई टेकेर कसैप्रति आजीवन धारणा बनाउने र त्यसैको आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रह आजीवन पाली रहने अनि बोकी रहने आदत नेपालीजनमा बसेको छ ।

आज नेपाल कम्यूनिष्ट पार्टी नेकपा हुँदै आजका दिनमा नेकपा एमालेमा ललकारेर केही नेताहरुका अगुवाईमा जुन समानान्तर गतिविधि सञ्चालन गरि राखिएको छ यो । आजको मात्र विषय होइन । यो समूहका क्रियाकलापहरु सधैंभरी प्रवृत्तिका रुपमा कहिले कुन रुपमा र कहिले कुन रुपमा यसरी नै प्रकट भएका नै हुन् । पार्र्टीका मूल कमिटीमा हुन् वा जनसंगठनमा हुन् यो प्रवृत्तिले सधैं पार्टी र संगठनलाई कमजोर नै वनाएको छ । आफू असहिष्णु हुने, आफू अनुदार हुने अनि कसैले पार्टी भित्रको असहिष्णुता, हेपाहा र पेलाहा प्रवृत्तिका विरुद्ध आवाज उठायो भने त्यो कार्यकर्तालाई केपी ओली सँग जोडी हाल्ने काम मेची महाकाली सबै स्थानमा भयो । यति सम्म गरियो कि कमरेड केपी ओली मृगौला प्रत्यारोपण गरी दिल्लीमा उपचाररत रहेको समयमा होस या सिंगापुरमा अर्धचेत अवस्थामा जीवन र मृत्युसँग जुधिरहेको समयमा होस् पार्टी भित्र भने कार्यकर्तालाई केपी ओली कै नाम जोडेर दोस्रो दर्जाको व्यवहार गर्ने कामले निरन्तरता पायो । कमजोर मानसिकता बोकेका कार्यकर्ता भएका भए आफ्नो राजनीतिक जीवन माथि भएका दुव्र्यवहारका कारण थुप्रै पलायन हुने थिए तर एक दिन गलत प्रवृत्ति माथि विजय हासिल गर्न सकिन्छ र पार्टीभित्रका अन्तर विरोधहरुलाई मित्रवत हल गर्न सकिन्छ भन्ने मान्यतामा अडिग भएर कार्यकर्ताहरु अविचलित भई हाँसी हाँसी क्रियाशिलतालाई निरन्तरता दिइ नै रहे ।

महाधिवेशनका ती दृष्यहरु

एमालेको इतिहासमा पाँचौ अधिवेशन यस्तो अधिवेशन रह्यो कि अधिवेशनको वन्द सत्रमा पार्टीको नाम कम्यूनिष्ट पार्टी नराख्ने सम्मका विचारहरु आए । कमरेड रघु पन्तले प्रस्तुत गरेको सामाजिक जनवादको कार्यक्रममा पार्टीको नाम फेर्ने र कम्यूनिष्ट पार्टीको झण्डा प्रयोग नगर्ने विषय समावेश थियो । कमरेड मदन भण्डारीले उक्त विचार समेत महाधिवेशनको बन्द सत्रमा मात्र होइन अधिवेशनका सन्दर्भका खुल्ला वैचारिक बहसका लागि पार्टी केन्द्रीय कार्यालयबाट आधिकारिक रुपमा सदस्य सम्म र आम जनता समक्ष पु¥याउने व्यवस्था मिलाउनुभयो । त्यही महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको वहुदलीय जनवाद अत्यधिक वहुमतका साथ स्वीकृत भई नेपाली कम्यूनिष्ट आन्दोलनले नयाँ वैचारीक मोड लियो । अधिवेशनमा वैचारीक मतभेदका हिसावले निकटतम प्रतिष्पर्धा कमरेड सी.पी. मैनालीले प्रस्तुत गर्नु भएको परिमार्जित नौलो जनवाद र जनताको बहुदलीय जनवादका बीचमा नै थियो । विचारमा कमरेड मदनले नेतृत्व गर्नु भएको जनताको बहुदलीय जनवादले विजय हासिल गरेता पनि सबै नेताहरुको पार्टी निर्माणमा उत्तिकै योगदान भएकोले नेताहरुको सहमतिमा सबै विचार प्रस्तोताको सम्मानजनक सहभागिता सहितको केन्द्रीय कमिटी निर्माण गर्दै महाधिवेशन सम्पन्न भयो । सातौं अधिवेशनमा जनताको वहुलीय जनवादका १४ विशेषता मध्ये शक्ति पृथकीकरणको सिद्धान्तमा आधारीत पार्टीको लोकतान्त्रिकरणको वैधानिक व्यवस्थाका लागि कमरेड केपी ओलीले बहुपदीय विधानको विषय उठान मात्र के गर्नु भएको थियो त्यो विषयसँग सहमत हुने २ दर्जन वढी केन्द्रीय सदस्यहरुले परिभाषित जिम्ेमवारी पाउनका लागि पार्टीमा निवेदन नै हाल्नु पर्ने अवस्था आयो । अर्कोतर्फ कम्यूनिष्ट पार्टीको संगठनात्मक संरचनालाई पूँजीवादी ढाँचामा लगेर केपी ओलीले पार्टी नै विघटन गर्न लागे भनेर टोल तहसम्म गलत सूचना आधिकारिक रुपमा नै लाने काम भयो । यही विषय आठौं महाधिवेशनमा प्रवेश भई हलले विधान पारित गरि सक्दा कमरेड केपी ओलीलाई महाधिवेशन हलमा अध्यक्ष मण्डलले वोल्न समेत दिइएन । पार्टी भित्र यी यस्ता खाले तमाम समस्या वावजुद केपी लगायत यो पंक्ति कहिले पनि अपमान भयो भन्दै सार्वजनिक हो हल्लामा निस्केन ।

केपी ओली अध्यक्ष निर्वाचित भएपछि मात्रै पार्टी अन्तरविरोधमा फस्यो त्यो भन्दा पहिलेका सबै नेतृत्वले पार्टीमा राम राज्य नै स्थापना गरेका थिए भन्ने प्रकारले नेतृत्व माथि निरन्तर जुन प्रहार गरिएको छ । यो नितान्त गलत हो ।

माधवका लागि मदन भण्डारी फाउण्डेसन : बनको हैन मनको बाघ

पार्टी नेताका नाममा देशव्यापी प्रतिष्ठानहरु छन । कुनै राष्ट्रिय रुपमा छन, कुनै क्षेत्रीय, कुनै जिल्ला र कतिपय पालिकास्तरमा समेत राजनीतिक सामाजिक अभियानमा छन् । तर २५ वर्ष अघि दर्ता भएको मदन भण्डारी फउण्डेशनका गतिविधि भने कमरेडहरुले ‘वनको होइन मनको पाटे बाघ’कै रुपमा प्रचारीत गर्नु भएको छ र यसका सामाजिक गतिविधिहरुलाई आतंक कै रुपमा लिनु भएको छ । यद्यपी अर्को पक्ष मार्क्सवादी अध्ययन केन्द्र, त्यसले जन संगठका रुपमा विकास गरेको विद्यार्थी संगठनका रुपमा काम गर्ने केन्द्र जिल्ला, प्रदेश, र इकाईका माध्यमबाट अनेरास्ववियूलाई छायामा पार्ने गतिविधि गुटबन्दी भन्दा माथिको वैचारीक काम भन्ने लेपनमा दौडी रहेकै छ । अतः सामाजिक सामूदायिक संगठन प्रतिको वुझाईलाई सापेक्ष वनाउनुपर्छ एमालेको भावनात्मक एकताका लागि ।

पार्टी नै विघटन गर्नु पर्छ भन्ने सामाजिक जनवादी कार्यक्रमका प्रस्तोता आज पार्टी केन्द्रमा रहेर आफूलाई अत्यत्न क्रान्तिकारी र अब्बल नेताका रुपमा समूह विशेषको प्रवक्ताका रुपमा क्रियाशील हुन सहज दिने उदार मनाहरुको यो पार्टी अहिले एकले अर्कालाई पूर्ण निषेध गर्ने शत्रुतापूर्ण अन्तरविरोधहरुको दलदलमा नराम्ररी फसेको छ । छैटौं देखि आठौं अधिवेशन सम्मका सम्पूर्ण राजनितिक वैचारिक गतिविधिहरु सहमति र सहकार्य अनि पार्टी भित्रको सुदृढ एकता केन्द्रित हुन सकेनन् । यो अवधिको पार्टी नेतृत्व पार्टीमा हार्दिकता सहित कार्यकर्तालाई सुदृढ एकताका साथ बढाउने भन्दा पनि अन्तरविरोधमा खेल्ने व्यक्तिगत अहम्को रक्षा केन्द्रित भयो भन्दा अन्यथा नहुने गरीको एक एक सत्य तथ्यहरु जनता सामु प्रष्ट नै छन् ।

हम तो चले सनम…..

मैले उठाएको प्रसंग केपी ओली अध्यक्ष निर्वाचित भएपछि मात्रै पार्टी अन्तरविरोधमा फस्यो त्यो भन्दा पहिलेका सबै नेतृत्वले पार्टीमा राम राज्य नै स्थापना गरेका थिए भन्ने प्रकारले नेतृत्व माथि निरन्तर जुन प्रहार गरिएको छ । यो नितान्त गलत हो । बरु ओली अध्यक्ष भएपछि विगतमा भन्दा सबै क्षेत्र (राजकीय क्षेत्र, पार्टी जीवन तथा अन्तराष्ट्रिय जगतमा समेत )मा एमालेको साख बढेको कुरा सबैले स्वीकारेर आउनु पर्छ । तबमात्र एकता दर्विलो हुनेछ । नत्र भने हिन्दी कहावत, हम तो चले सनम तुम को भी लेके चलैं को अवस्थामा सबैलाई पुराउने मात्रै हो । नेतृत्वमा एकताका लागि छलफलमा जुट्नु भएका नेताहरुले विगतका सबै प्रवृत्ति त्यो प्रवृत्तिका वाहक पात्रहरुको शैली र त्यसले दिएका परिणामहरुको गम्भिर समीक्षा गर्नुहोस् । हतारमा व्यक्ति व्यवस्थापन केन्द्रित एकताले अब परिणाम दिंदैन । प्रवृत्ति सुधार, व्यवहार सुधार अनिवार्य छ । यो व्यक्तिसँग सम्बन्धित विषय हुँदै होइन , प्रवृत्ति हो ।

समानान्तर गतिविधि पार्टी कमजोर बनाउने अस्त्र

आज बहुमतको निर्णयको वकालत भई रहँदा विगतमा जन सँगठनहरुमा आफू वहुमतमा पुग्दा अर्को पक्षलाई निषेध गर्ने, छेउ पर्न नदिने , केहि असहमतिका विषय कमिटीमा नै राख्दा पनि पद्धतिको वकालत गर्ने र गराउने हरुले जनसंगठनमा आफ्नो सोचाई अनुकुल नेतृत्व नहुने वित्तिकै ती जनसंगठनका संगठनात्मक गतिविधिलाई यो वा त्यो नाममा रोक्ने प्रयत्न गर्ने समानान्तर सर्कुलर जारी गराई तल्लो तह सम्म संगठनात्मक प्रकृयालाई तहस नहस बनाउने काम अब कोही कतैबाट नहुने कुराको ग्यारेण्टीका बारे पनि कार्यदलमा गहन छलफल आवश्यक छ । स्मरणीय के छ भने अनेरास्ववियूको जनकपूर सम्मेलनमा भएको निर्वाचनमा आफूले समर्थन गरेको टिम पराजित भए पछि पराजित पक्षले समानान्तर केन्द्रीय कमिटिका नाममा जिल्ला जिल्ला सर्कूलर जारी गरी अखिलका गतिविधि तहसनहस पारे पछि नै स्ववियू निर्वाचनमा अखिल रक्षात्मक वन्यो । संगठन कमजोर भयो । यो रोग प्रगतिशील प्राध्यापक संगठन, युवा संघको चर्चित गोठगाउँ वैठक र धरानको युवा महिला भेला आदि आदिमा राम्रै देखिएका हुन् ।

अबको एमालेमा……

अबको एमालेमा पार्टी र संगठन भित्र निर्वाचित सदस्यहरु संगठन निर्माणका लागि हुनुपर्छ, दाउपेच र एकले अर्कोलाई कमजोर वनाउनेमा मात्रै हुनु हूँदैन । संगठन भित्रका गलत प्रवृत्ति र पात्रहरुलाई एकतामा नाममा लेपन लगाइयो भने भित्र भित्रै फेरी पाक्ने र कचल्टिने छ । सार्वजनिक होइन, आन्तरिक जीवनमा निर्मम आलोचना गर्न पाउने र आत्माआलोचित हुनै पर्ने अनिवार्यता जरुरी छ । नत्र भने २०७५ जेठ २ गतेका कमिटीहरु नै अब आधिकारीक भए भन्ने निरपेक्ष शुत्रमा नै एमाले बाँधियो भने पार्टी बलियो बन्ने सम्भावना निकै कमजोर हुनेछ । २०७५ २ जेठलाई आधार विन्दु वनाई कमिटीहरुको पुनर्संरचना, समानान्तर कमिटी बनेका स्थानमा सम्मानजनक समायोजन आवश्यकता हो ।