अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

इटहरीको पहिलो छापाखाना र पत्रिकाको कथा


धरान छोडेर २०३९ सालमा म इटहरी बसाइँ सर्न लाग्दा साथीभाइले भनेका थिए– ‘तेरो बुद्धि किन बिग्रिएको हँ ?’

त्यही साल इटहरीबाटै प्रकाशन गर्ने गरी मैले सप्तकोसी सप्ताहिक पत्रिका दर्ता गरेँ । जिल्लामा दर्ता भएको पाँचौ“ र इटहरीको पहिलो पत्रिका थियो त्यो । दर्ता नम्बर ५ थियो । त्यसबेला इटहरीमा छापाखाना थिएन । विवाह, व्रतबन्ध सुपारी निम्तोबाटै चल्थे । एक–दुई महाजनहरूले विराटनगरमा कार्ड छापेर निम्ता बाँडेजस्तो लाग्छ । म पत्रिका छाप्ने, वितरण गर्ने र विज्ञापन उठाउने बहानामा सधैँ धरानतिरै जान्थेँ । इटहरी चोकभरि ठूलाठूला खाडल भएको, धुलो उड्ने सानो बजार थियो । धरानमा पत्रिका छाप्ने कार्की प्रेस, थापा प्रेस थिए ।

कृष्ण अधिकारी

मैले दिङ्ला छापाखाना नामको प्रेस दर्ताका लागि निवेदन दिएँ । दिङ्ला मेरो जन्मभूमि थियो र नेपाली जनताका छोराछोरीले पढ्न पाउने नेपालको पहिलो पाठशाला स्थापना भएको ठाउँ पनि थियो । प्रेस दर्ता पाउन भने त्यति सहज थिएन । पुलिस रिपोर्टदेखि लिएर मन्त्रालयसम्मको स्वीकृतिपछि मात्र दर्ता पाइन्थ्यो । त्यसमा पनि पञ्च परमेश्वरहरू देब्रे पल्टिए भने प्रायः असम्भव नै हुने । भाग्यवश छापाखानाको दर्ता स्वीकृत भयो । म दङ्ग थिएँ, तर मेसिन किन्ने पैसा थिएन ।

इटहरीमा टेलिफोन आएकै थिएन, खबरै नगरी दुईजना मान्छे मेरो घरमा आए । तीमध्ये एकजना होचा–होचा छत्रे टोपी लगाएका र अर्का अग्ला, पातला र सुकिला थिए । छत्रे टोपी लगाउनेले सोधे– ‘तपाईंले प्रेस दर्ता लिनुभएको छ रे ?’

‘हो ।’ मैले भनेँ । ‘हामी प्रेस खोल्छौ“, दर्ता दिन सक्नुहुन्छ ?’ उनले सोधे ।

‘दिन्छु, तर बिक्री गर्दिनँ, मेरो पत्रिका सशुल्क त्यस प्रेसमा छापिनुपर्छ,’ मैले भनेँ ।

त्यति कुरा गरेर गएका ती दुईजना मान्छे भोलिपल्ट फेरि आए र भने– ‘तपाईंको स्पष्ट कुरा सुनेपछि तपाईंसमेत हामी तीनजना भएर प्रेस राखौ“ भन्ने लाग्यो । अहिले हामीसँग भएको पैसा हाल्छौ“, पछि मिलाउँदै गराँैला, सप्तकोसी पत्रिकालाई पनि एउटै व्यवस्थापनमा राखेर चलाऔ“ ।’ उहाँहरूले भन्नुभयो ।

म राजी भएँ । छत्रे टोपी लगाउने होचा मान्छे हालका इटहरीका वरिष्ठ समाजसेवी रामचन्द्र अधिकारी र अर्का मान्छे नेत्रप्रसाद सङ्ग्रौला हुनुहुन्थ्यो । रामचन्द्र अधिकारी र म मेसिन लिन पटना गयौ“ । टे«डिल मेसिन बुक गर्‍यौ“ । छाप्ने मेसिन १९ इन्च, कटिङ मेसिन ३२ इन्च र पर्फरेटिङ मेसिन आइपुग्यो । प्रेस मेसिन आएपछि इटहरीवासी अत्यन्तै खुसी भए, बूढापाकाहरूले धन्यवाद दिए ।

इटहरीको वडा नम्बर ५ मा एउटा काठको घर थियो नेत्रप्रसाद सङ्ग्रौलाको । त्यही घरमा मेसिन जडान गरे पुराना मेसिन म्यान, मोहन पोख्रेलले । त्यसबेलाका जल्दाबल्दा अञ्चलाधीश धर्मबहादुर थापालाई प्रमुख अतिथि बोलाइयो र उद्घाटन गराइयो । इटहरीभरिका मान्छेहरू मेसिन हेर्न ओइरिएका थिए । केही मान्छेले बिल र लेटर प्याड छाप्ने अर्डर पनि दिए । म प्रधान सम्पादक, रामचन्द्र अधिकारी सम्पादक र नेत्रप्रसाद सङ्ग्रौला व्यवस्थापक भएर सप्तकोसी साप्ताहिक प्रकाशन थाल्यौ“ ।

यसरी सुरु भयो इटहरीको पहिलो रिसोर्ट

  • अमृत कार्की

पहिले यहाँ राजपरिवारको कामत थियो । ५५ सालतिर विराटनगर लाइनमा रोयल रिसोर्ट बनाइएको हो । मेरो घर विराटनगरमा थियो । त्यहाँ खेती गर्थेँ । स–मिल पनि थियो ।

अमृत कार्की

राजपरिवारसँग नजिक थिएँ । रोयल रिसोर्ट भएको १८ बिघा १० कट्ठा जग्गा पहिले राज्यलक्ष्मी जबरा, उदयसमसेर जबरा, सुरजसमसेर जबराको नाममा थियो । त्यहाँ राजाको ससुरा केन्द्रसमसेरको घर थियो । त्यो पहिला आर्मीको सुरक्षामा थियो । राजपरिवारको आउजाउ भइरहन्थ्यो । त्यहाँ उहाँहरूका तीनवटा घर थिए । पछि बन्ने क्रममै मलाई राज्यलक्ष्मी (राजाको सासू) ले रिसोर्ट चलाउन आग्रह गर्नुभयो । पछि मैले जिम्मा लिएँ ।

मैले उहाँहरूसँग लिखित सहमति गरेँ । जसमा मलाई नसोधी जग्गा किनबेच गर्न नपाउने भन्ने थियो । राजपरिवारसँग सर्वसाधारणले एग्रिमेन्ट गर्ने अवस्था थिएन । तर मसँग भयो । त्यसपछि मैले त्यहाँ ७ ओटा घर थपेँ । पहिले मानिसहरू अचम्म मान्थे । यो झाडीमा आएर बस्यो भन्थे । तर पछि पिकनिक स्पोटको रूपमा पनि प्रयोग भयो । रिसोर्ट चलाउन थालेपछि त्यहाँबाट सेना हटाएँ । रिसोर्टमा राजपरिवारबाहेक माओवादीहरू पनि आउँथे । शान्तिप्रक्रिया सुरु भएकै थिएन, त्यही बीचमा रिसोर्टमा बादल, प्रचण्ड, बाबुराम कार्यक्रममा आएका थिए । अरू कसैलाई नभन्न भनेका थिए । मैले केही पत्रकारलाई भनिदिएँ ।

पछि राजपरिवारले त्यहाँको जग्गा बेच्ने भएपछि मलाई लिन भने । तर मैले लिन मानिनँ । किनकि माओवादीले बमसमेत पड्काएको थियो । मलाई तर्साएका थिए । त्यसपछि त्यहाँका कामदारहरू केहीले छाडेर हिँडे । केही बसे । रातारात मैले भारतीय ल्याएर दुई महिनाभित्र फेरि सञ्चालनमा ल्याएको थिएँ । पछि काठमाडौ“को व्यापारी टङ्क श्रेष्ठले उक्त ठाउँको जग्गा किन्नुभयो र उहाँले मलाई क्षतिपूर्ति दिनुभयो । सजिलै दिनुभएन, मुद्दा गर्नुपर्‍यो ।
‘इतिहासमा इटहरी’ पुस्तक अंश