अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

पार्टी संकटका सात महीना


२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीतिमा एक दुरगामी प्रभाव छाड्ने गरी फैसला गर्‍यो । त्यो फैसलाको सार तीन वर्षदेखि नेपालको ठूलो दलको रूपमा अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटन । अर्थात् नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकताको बदर । अदालतको यो फैसलाले कालान्तरमा कम्युनिष्ट आन्दोलनलाई सिध्याएको हैन बचाउन सहयोग गरेको रूपमा दर्ज हुने कुरामा विवाद छैन । यसका कारणहरू आगामी दिनमा खुल्दै जाने छन् ।

अदालतको फैसलाले एमाले बनाए पनि माधव नेपाललाई प्रचण्डको काख नै प्यारो थियो । फैसलाका केही दिनसम्म उहाँ माओवादी कै कार्यालय आउजाउ गर्नुभयो । तर, एमालेको कार्यालयतिर आउने मन गर्नुभएन । उहाँको विचार समूहका केही नेता कार्यकर्ताले पनि एमाले भन्दा माओवादी नै रूचाउनुभयो । त्यसकारण एमालेको विचार समूह छोडेर अन्यन्त्र लागेका जिम्मेवारहरूका ठाउँमा फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले नयाँ कमरेडहरूलाई जिम्मेवारी दियो । त्यहीं क्रममा संकटको बेला मैले बाँके जिल्लाको अध्यक्षको जिम्मेवारी पाएको हुँ ।

बाँकेमा नेपाल कम्युनिष्ट पार्टी

पुष्पलालको नेतृत्वमा नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएको हो । बाँकेमा २००९ सालमा कम्युनिष्ट पार्टीको प्रभाव परेको इतिहासमा पाइए पनि स्थिर जनमत तयार हुन सकेको छैन । अस्थिरतामा आफ्नो भविष्य खोज्ने र अस्थिरतालाई डाइनामिक ठान्ने प्रचण्डको कारण मुलुकको राजनीति एक प्रकारको घनचक्रमा फसेको थियो ।

राष्ट्रिय स्वाधीनताको आन्दोलन, मुर्छित सपनाहरू जागृत, पृथकतावादी र हिंसात्मक आन्दोलनकारीलाई शान्ति प्रक्रियामा ल्याउनु, समृद्ध नेपाल सुखी नेपालीको महान अभियानलाई अगाडि बढाएकै कारण केपी ओलीकै नेतृत्वमा यो सम्भव छ भन्ने राष्ट्रिय मनोविज्ञान तयार भएको छ ।

नेकपा माओवादी मुलतः प्रचण्ड पार्टी, राष्ट्र र जनताप्रति त्यति जिम्मेवार र जवाफदेही नभएकै कारण दुई पार्टीबीच भएको एकताले गति लिन सकेको थिएन । एमाले र माओवादी केन्द्रबीच नीति–विचार सिद्धान्त र कार्यक्रमको विषयमा छलफल नभइ सिट संख्यामा मात्र एकता भएको हुनाले एकता लामो समयसम्म जाने विश्वास कार्यकर्तामा थिएन । प्रचण्ड एकताप्रति इमान्दार थिएनन् उनी नेकपा एमालेलाई सकभर कब्जा गर्ने कब्जा गर्न नसके एमाले फुटाउने अभियानमा थिए ।

प्रचण्डको योजननमा लागेर माधव नेपाल सहितको टोलीले बहुमतको नाममा तत्कालीन प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई सडकबाट अध्यक्ष, संसदिय दलको नेता र संगठित सदस्यबाट हटायौं भनेर हौवा पिटाइयो । हो, ठीक त्यही बेला नेकपा एमालेका नेता कार्यकर्ता र जनता “आई लभ यु केपी ओली” भनी स्वस्फूर्त ढंगले सडकमा उत्रेका थिए ।

फागुन २८ गतेको राष्ट्रिय भेलाबाट सात प्रदेश, ७७ जिल्ला कमिटी, २१ वटा जनवर्गिय संगठन, ७५३ वटा स्थानीय तह र ६६८५ वडाहरू पुनर्गठन गर्ने निर्णय भयो । सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, एकतापछि मनोनित भएका अध्यक्ष आईपी खरेल फुटपरस्त गतिविधिमा लागेपछि मेरो नेतृत्वमा बाँके जिल्ला कमिटी पुनर्गठन भएको थियो ।

पार्टीमा जबर्जस्ती अन्तर्विरोध सिर्जना गर्ने, त्यहीं अन्तर्विरोधमा खेल्ने र सके पार्टी कब्जा गर्ने नभए विभाजित गर्ने प्रचण्डको डिजाइन अगाडि बढदै गयो । दुर्भाग्यवश एमालेका कतिपय नेताहरू नै प्रचण्डको दाउपेचमा सहयोगी र संवाहक बन्नुभयो । पार्टीभित्र देखा परेको अन्तर्विरोध तथा सृजित समस्याकै कारण नेकपा एमाले बाँकेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी फुटपरस्त गतिविधिमा सकृय थिए । जिल्लाका पदाधिकारी फुटपरस्त गतिविधिमा र पार्टी अध्यक्षको चर्को विरोध मात्रै होइन पुत्ला दहन गरेको अवस्था थियो । पार्टीको केन्द्रीय र प्रदेशको नेतृत्व पनि सबै पदाधिकारी फुटपरस्त गतिविधिमा लागेको कारण बाँकेको नेकपा एमाले कमजोर हुने आंकलन गरेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये फुटको प्रभाव बाँकेमा बढी पर्ने आंकलन नेतृत्वले गरेको अवस्था थियो । राष्ट्रिय स्वाधीनताको आन्दोलन, मुर्छित सपनाहरू जागृत, पृथकतावादी र हिंसात्मक आन्दोलनकारीलाई शान्ति प्रक्रियामा ल्याउनु, समृद्ध नेपाल सुखी नेपालीको महान अभियानलाई अगाडि बढाएकै कारण केपी ओलीकै नेतृत्वमा यो सम्भव छ भन्ने राष्ट्रिय मनोविज्ञान तयार भएको छ । केपीप्रतिको आकर्षण केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडाहरूमा क्रमशः बढ्दै गएको छ भने यसको ठीक विपरित फुटको प्रभाव केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडाहरूमा क्रमशः कम हुँदै आएको छ ।

अध्यक्षका रूपमा मेरा सात महीना

मलाई अध्यक्षको जिम्मेवारी आएपछि सकेसम्म मैले पार्टीलाई गतिशिल बनाउने प्रयत्न गरें । सात महीनामा तीन क्षेत्रीय कमिटी गठन, भेला प्रशिक्षण गरियो । आठ वटा स्थानीय तहको गठन तथा प्रशिक्षण सम्पन्न भए । ८१ वडा पुनर्गठन तथा प्रशिक्षण समेत सक्रियाताूर्वक गरियो । १९ वटा जनवर्गीय संगठनको जिल्ला भेलाबाट जिल्ला कमिटीहरू गठन भए । जनवर्गिय संगठनका पालिका कमिटीहरू पनि गठन भएका छन् । सात महीनाको यो अवधीमा नेकपा एमालेमा ५ हजार ४९ जना नयाँ सदस्यलाई संगठित गर्न सफल भएका छौं ।

पहिलो बैठक : मेरो अध्यक्षतामा ४३७ सदस्य जिल्ला कमिटी गठन गरियो । यसको पहिलो बैठक ९ फागुन २०७७ मा जिल्लाकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा सम्पन्न गरियो । यो ठाउँ पार्टीका इन्चार्ज, स्वर्गीय दिनेशचन्द्र यादवको जन्मभूमि हो । यो बैठक पार्टीका प्रदेश अध्यक्ष लिला गिरी र संगठन विभागका प्रमुख भुमिश्वर ढकालको आथित्यमा सम्पन्न भएको थियो ।

सर्वोच्चले फागुन २३ गते एमाले र माओवादीलाई अलग गरिदिएपछि बाँकेको एमाले पार्टी हाँक्ने जिम्मा मेरो काँधमा आएको थियो । अध्यक्ष भएपछि निरन्तर पार्टी हितको पक्षमा म खटिएँ । अधिकांश नेता कार्यकर्ताालाई फुटपरस्त हुनबाट जोगाएँ । पार्टी एकताको लागि १० बुँदे कार्यन्वयनमा आएसँगै मेरो अन्तरिम अध्यक्षको कार्यकाल पनि सकियो । तर नेकपा एमालेको एक इमान्दार सिपाहीको रूपमा मेरो कार्यकाल अझै लामो समय बाँकी नै छ ।

बैठकको सन्देश पार्टी गतिशिल भएर अघि बढ्छ र नेकपा एमालेको प्रभाव आम बाँके बासीमा बढ्छ भन्ने कुरा पहिला पार्टी पंक्तिलाई आशावादी बनाउनु थियो । बैठक इन्द्रधनुष जस्तै थियो । २५ वर्ष लगातार जिल्ला कमिटीमा बसेका अग्रज साथीहरू र नेकपा एमालेलाई नयाँ ढगले नयाँ प्रश्नको नयाँ उतर दिने गरी अगाडि बढाउनु पर्छ भन्ने नयाँ सोच दृष्किोण भएका नयाँ युवाहरूको बाक्लो उपस्थिति बैठकमा थियो ।

नेकपा एमाले भित्र समस्या वा चुनौति मात्रै होइन सम्भावनाको विशाल क्षितिज पनि फैलिएको छ । त्यो लक्ष्यलाई प्राप्त गर्ने नेतृत्व र कार्यकर्ता पंक्ति एकतावद्ध बनाउने, संगठन छरितो, सुदृढ र संगठित गर्ने जिम्मेवारी त्यो कमिटीका पदाधिकारी र सदस्यहरूको काँधमा थियो । नेकपा एमाले हुरी आउँदा रुखको टोड्कामा, घरका छाना वा भित्ताका प्वाँलहरूमा लुक्ने भँगेरो हैन । यो त माथि गगनमा हावा खाने, उचाईबाट धर्तीलाई हेर्ने र हावा हुण्डरीको सामना गर्दै उडिरहने हुरी चरा हो । एक दिन एक कार्यक्रमको गतिमा संगठनलाई राजनीतिक वैचारिक र संगठानात्मक रूपमा लैजाने अठोट गरिएको थियो ।

आत्मआलोचना, आलोचना भन्दा एकपछि अर्को अस्वभाविक र असान्दर्भिक माग मुद्दाहरूले गर्दा केशरजंग रायमाझी, केशरमणी, राधाकृष्ण मैनाली र अशोक राई जस्तै प्रक्रियाबाट माधव नेपाल पनि एमाले विरोधीहरूको मतियार बन्ने सम्भावना थियो ।

जनतालाई नेकपा एमालेको मुलधारमा सहमाहित गर्ने कोरोना नियन्त्रण पछि १५ दिने अभियान संचालन गर्ने, पार्टी कमिटिले निर्णय गरेका कुनै पनि कार्यक्रम बिना कारण स्थगित नगर्ने, नयाँ युवाहरूलाई जिम्मेवारी दिंदै जाने, व्यक्ति एक परिचय अनेक पुस्तक प्रकाशन गर्ने, समावेशी सिद्धान्तका आधारमा पार्टीको विधानको अक्षरस लागू गर्दै जाने, पार्टीभित्र देखा पर्ने गुटबन्दीलाई सामूहिक रूपमा परास्त गर्ने लगायतका निर्णयहरू गरेको थियो । जिल्लाका ८१ वडा, ८ पालिका ३ क्षेत्र, ६ प्रदेश र १९ जनवर्गीय संगठनहरू पुनर्गठन गर्ने यही बैठकको निर्णय हो । ‘अयोग्यसँग होइन योग्यसँग प्रतिस्पर्धा गर्ने’ ‘एक हप्तामा एक केन्द्रीय नेता जिल्लाका कार्यक्रममा बोलाउने’ पार्टीले आयोजना गरेका सबै कार्यक्रमको हिसाब पारदर्शी रूपमा सावर्जनिक गर्ने, पार्टी पद्धतिभन्दा बाहिर आर्थिक संकलन नगर्ने र प्रत्येक बैठकमा संगठनको आय–व्यय छलफल गर्ने निर्णय सहित बैठक सम्पन भएको थियो । सात महीनामा जिल्ला कमिटीको बैठक १६ पूर्ण बैठक जोगागाउँ र २०७८ साउन ३० गते १७औं पूर्ण बैठक लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भवानीयापुरमा सम्पन्न भएको थियो ।

एक कमिटी एक महीना एक जना प्रवेश गर्ने अभियान

यो वा त्यो नामबाट नेकपा एमालेलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारै तर्फबाट प्रहारको निशाना गरिरहेको अवस्था विद्यमान थियो । नेकपा एमाले र अध्यक्षलाई कमजोर बनाउन १५ वर्ष महासचिव भएका माधव नेपाललाई प्रयोग गरिरहेको अवस्था थियो । नेपालको कम्युनिष्ट आन्दोलनको एकता र फुटको इतिहासलाई अध्ययन गर्दा माधव नेपाल एमाले पार्टीमा रहेर हाम्रो नेता बनिरहने सम्भावना कम हुँदै गएको थियो । आत्माआलोचना, आलोचनाभन्दा एकपछि अर्को अस्वभाविक र असान्दर्भिक माग मुद्दाहरूले गर्दा केशरजंग रायमाझी, केशरमणी, राधाकृष्ण मैनाली र अशोक राई जस्तै प्रक्रियाबाट माधव नेपाल पनि एमाले विरोधीहरूको मतियार बन्ने सम्भावना थियो ।

८१ जनवर्गीय संगठनहरू १९ जिल्ला विभागहरू २३ गरी जम्मा ५०४९ जनालाई यो सात महीनामा संगठित गर्ने सफल भएका छौं । विभिन्न पार्टीबाट १२०० भन्दा बढी प्रवेश गराउने काम भएको छ ।

माधव नेपालले नेकपा एमाले छोड्दा र जिल्लाका पदाधिकारी फुटपरस्त गतिविधिमा लाग्दा ५ देखि ७ प्रतिशत प्रभाव पर्ने जोगाउगाउँमा बसेको जिल्ला कमिटीको बैठकको निष्कर्ष थियो । माधव नेपालले पार्ने फुटको प्रभावलाई कमजोर बनाउन एक कमिटी एक महीना एक जना प्रवेश गराउने अभियान अन्तर्गत विभिन्न पार्टीबाट यो सात महीनामा १ हजार ४०० भन्दा बढी व्यक्तिहरू पार्टी भित्र प्रवेश गराउन सफल भएका थियो ।

उत्पादनसँग एमाले

पार्टी कामको गतिलाई हामीले तिव्रताका साथ अगाडि बढाएका छौं । हामी काम सँगसँगै आज हाम्रो समग्र कामको केन्द्रविन्दु “समृद्ध नेपाल, सुखी नेपाल” को राष्ट्रिय आकांक्षालाई साकार पार्ने कुरामा केन्द्रित गर्न यस जिल्लामा उत्पादनसँग एमाले अभियान सञ्चालन गर्ने जोगागाउँको बैठकले निर्णय गरको थियो । उत्पादनमा जोडिएका र आत्मनिर्भर भएका कार्यकर्ताहरूको उच्च मूल्यांकन गर्ने यस अभियान अन्तर्गत पहिलो चरणमा पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका सदस्यहरू र जनवर्गीय संगठनका जिल्ला पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो घर वरिपरिको जग्गा बाँझो राख्न पाइने छैन । नेकपा एमालेका संगठित सदस्यता लिएका उत्पादनमा जोडिएका १० जना भन्दा बढीलाई रोजगार प्रदान गरेका रोजगारदातालाई एक कार्यक्रमका बीच सम्मान कार्यक्रमको आयोजना गर्ने पार्टी कमिटीका हरेक बैठक भेलामा यो प्रस्तावलाई प्रस्तावको रूपमा छलफल गरिएको थियो ।

महिला सशक्तिकरण : आधा धर्ती ढाकेका र आधा आकाश उचाल्ने महिला समुदायका बीचमा पार्टी काम कमजोर छ । यो समुदाय पुराना मान्यता, कुसंस्कार, सामन्ती थिचोमिचो र अशिक्षाबाट सबै भन्दा बढी प्रभावित र थिचिएको छ । पार्टी सम्पर्कमा आएका महिलाहरुको पंक्ति अझै पनि सानो छ । महिला कार्यकर्ताहरूको संख्या झनै सानो छ । नेतृत्व पंक्तिमा विकास गरेको संख्या झन् सानो छ । संविधान र पार्टीको विधान अनुसार महिला नेतृत्व तयार गर्ने चुनौति हाम्रो सामु खडा रहेको छ । सामजिक मुक्तिको लागि पार्टीले योजना बनाएर नलाग्ने हो भने आफैं सम्भव छैन । यो समुदायलाई जोगाउन, महिला कार्यकर्ता निर्माण गर्न र तयार भएका कार्यकर्तालाई सैद्धान्तिक, राजनैतिक तथा वैचारिक स्तर उन्नत पार्न अनिवार्य छ । पार्टी कमिटी र जनवर्गीय संगठनहरूले आयोजना गरेका सबै कार्यक्रममा एक जना वक्ता अनिवार्य बनाउनु पर्ने निर्णय गरेको छ । २०७८ साल भदौ मसान्त सम्ममा राजनीतिमा महिला सहभागिता र नेतृत्व निर्माणको प्रश्न भन्ने नाराका साथ रचनात्मक कायक्रमको आयोजना गर्ने पार्टी कमिटी तथा जनवर्गीय संगठनहरूमा एक कार्यक्रम एक महिला वक्ता अनिवार्य बनाउने ।

नेपालगंजमा पार्टी सधैं किन हार्छ ?

बाँंके क्षेत्र नं.–२ मुलतः नेपालगन्ज क्षेत्र २०४८ सालदेखि पार्टीले उठाएका उम्मेदवारहरूले निर्वाचन जित्न नसक्नुको कारण के हो ? आगामी दिनमा पार्टीले उठाएका उम्मेदवारलाई विजय बनाउन कस्तो नेतृत्व र कार्यकर्ता तयार गर्नु पर्दछ । त्यो कसरी ? विराटनगर, भरतपुर र पोखरा जस्तै ढंगले नेपालगंजको विकास किन हुन सकेन ? यी विषयमा व्यापक छलफल, बहस, अन्तक्रिया, विचार गोष्ठिको आयोजना गरी सबैबाट सुझाव संकलन गरी सुझावहरूको संगालो प्रकाशन गर्ने अभियानलाई निरन्तर अगाडि बढाउने निर्णय गरिएको छ । यस अभियान अन्तर्गत नेपालगंजका २३ वडाहरूमा रहनुभएका जिल्ला कमिटीका सदस्यहरू र अध्यक्ष, सचिवबीच पहिलो चरणको छलफल संचालन गरिएको छ । अब दोस्रो चरणमा निम्न कामहरू गरिने छ ।
१) विकास बहस शुरूवात गर्ने, २) सरसफाई अभियान संचालन गर्ने, ३) महिला हिंसाको व्यापक विरोध गर्ने, ४) लागूऔषध, दुव्र्यसनीमा लागेका युवाहरूलाई रोकथाम गर्न अभियान चलाउने, ५) भ्रष्टाचार, कालोबजारी, ढिलासुस्तीको विरोध गर्ने, ६) नियमित माक्र्सवादी अध्ययन कक्षा संचालन गर्ने, ७) नयाँ नेतृत्व निर्माण र जिम्मेवारी दिन विशेष पहल गर्ने र ८) कमिटी गठन प्रक्रियालाई तिव्रता दिने तथा कमिटी प्रणालीलाई चुस्त दुस्त राख्ने ।

रचनात्मक काम

संगठनात्मक जीवनलाई व्यवस्थित गर्ने दौरानमा हाम्रो सामु रचनात्मक क्रियाशिलताको आन्दोलनलाई अगाडि बढाउनु पर्ने र निर्माण गरिएका कमिटीहरूलाई क्रियाशिल तुल्याउनु पर्ने अभिभारा हाम्रो काँधमा थियो भने कोरोना कहरका बीच आफू बच्दै अरूलाई बचाउँदै संगठनका कामहरू गर्नुपर्ने बाध्यत्मक परिस्थिति थियो । कोरोना कहरमा परेका साथीहरूलाई अस्पताल पुर्‍याउने अक्सिजनको व्यवस्था मिलाउने र कोरोना कहरको समयमा अग्रपंक्तिमा बसेर काम गरिरहेकालाई मास्क, सेनिटाइजर वितरण गर्ने, बिरामीलाई फलफूल वितरण, सरसफाई, अग्नीपिडित र बाढी पीडितलाई राहत वितरण, विक्षरोपण, रक्तदान जस्ता कामहरू संगठन निर्माण अभियान सँगै अगाडि बढाउने काम निरन्तर दिन सफल भयो । पुस्तकालय निर्माण, पार्टी कार्यालको मर्मत सम्भार रङरोगन, बाउन्डी हल मर्मत सम्भार र शौचालय निर्माण गरिएको छ ।

आर्थिक अवस्था

संगठन निर्माण, परिचालन र व्यवस्था गर्ने आर्थिकको अभाव बिना यो काम गर्न सक्ने अवस्था थिएन । पुरानो जिल्ला कमिटीले सबै आर्थिक कार्यालयबाट गर्ने नियमित काम र पार्टी कार्यालय अस्तव्यस्त पारेको अवस्था थियो । यस बीचमा आर्थिक अवस्थालाई मजबुत बनाउने अभियान अन्तर्गत पार्टी संगठित सदस्य भन्दा बाहिरबाट आर्थिक संकलन नगर्ने नीतिमा रहेर यस सात महीनामा केन्द्रीय कार्यलयमा रु.७ लाख र प्रदेश कार्यालयमा रु.१ लाख ५० हजार पठाएर रु.१८ लाख पार्टी खातामा राख्न सफल भएका थियौं ।

प्रशिक्षण

वडाअध्यक्ष र सचिवहरूको एक दिने प्रशिक्षण, क्षेत्रीय कमिटी, पालिका कमिटीहरूको एक दिने प्रशिक्षण, ५१ वडामा प्रशिक्षण, जनवर्गीय संगठनको प्रशिक्षण एक हप्ते अध्यायन शिविर संचालन गरेका थियौं ।

एक जनवर्गीय संगठन, एक रचनात्मक काम

पार्टी काम तथा पार्टीका नीति–विचार र कार्यक्रमलाई जनताको बीचमा पुर्‍याउन पार्टीसँग आवद्ध जनवर्गीय संगठनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बाँकेको पार्टी कामलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्ला, क्षेत्र पालिका र वडासम्म कमिटीहरू गठन गर्ने र एक जनवर्गीय संगठन एक रचनात्मक कामलाई अभियानकै रूपमा लैजान अनेरास्वियू शैक्षिक बहस, राष्ट्रिय युवा संघ नेपाल लागूऔषध तथा दुव्र्यसनी नियन्त्रण तथा रोकथाम, नेपाल राष्ट्रिय व्यवसायी महासंघ नेपाल, स्वछ नेपालगंज हाम्रो नेपालगंज, भूपु सैनिक संगठन उत्पादनसँग, एमाले मुक्ति समाज गणतान्त्रिक राज्य व्यवस्थामा कला साहित्य धर्म संस्कृति कस्तो हुनु पर्छ भन्ने सवालमा कार्यक्रम भएका छन् ।

हाम्रा यी सात महीनाका अभियानलाई प्रभावकारी तथा दिशानिर्देशन गर्ने कमरेड शंकर पोखरेल–दुई पटक, प्रदिप ज्ञवाली–एक पटक, रघुवीर महासेठ–एक पटक, छविलाल विश्वकर्मा–एक पटक, लेखराज भट्ट–एक पटक, भानुभक्त ढकाल–एक पटक, महेश बस्नेत–एक पटक, देवि ज्ञावली–दुई पटक उपस्थित रहेको थियो ।

जिल्ला कमिटी १, क्षेत्रीय कमिटी ३, पालिका कमिटी ८ वडा कमिटी ८१ जनवर्गीय संगठनहरू १९ जिल्ला विभागहरू २३ गरी जम्मा ५०४९ जनालाई यो सात महीनामा संगठित गर्ने सफल भएका छौं । विभिन्न पार्टीबाट १२०० भन्दा बढी प्रवेश गराउने काम भएको छ । पञ्चायत व्यवस्थादेखि राजनीतिमा लागेका विभिन्न कारण सदस्यता नविकरण र जिम्मेवारी नलिएरै बसेका पुराना साथीहरू १०/१२ वर्षको नविकरण तिरेर पार्टी काममा जोडिन आउनु हामी सबैको लागि उत्साह थप्ने काम थियो । एक दिन एक कार्यक्रम अन्तर्गत हामीले आयोजना गरेका कार्यक्रहरू सम्पन्न गर्न हामी पूर्णरूपले सफल भयौं । पार्टीको काम लिएर गाउँ जाँदा कार्यकर्ता र हामीलाई मतदान गरेका मतदाताले उत्साहका साथ पार्टी कामलाई सघाए । यस पटकको फुटमा नेतालाई कार्यकर्ताले सम्झाउने-बुझाउने अवस्था रहयो । अहिले राष्ट्रिय राजनीतिमा रहेका देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईमध्ये काम गर्ने सक्ने राजनीतिक इच्छा शक्ति भएको नेता केपी ओली नै हो भन्ने बुझाइ नै जनताको बुझाइ रहेको छ ।

एमाले कमजोर भयो भने राष्ट्रिय स्वाधीनताको आन्दोलन, लोकतान्त्रिक आन्दोलन, सामाजिक सद्भाव, समृद्धि प्रतिको नेपाली जनताको चाहना, सामाजिक न्यायका मुद्दाहरू कमजोर हुने हुँदा एमाले कमजोर हुन नहुने जनताको अभिमत छ । नेकपा एमालेको भविष्य भनेको नै जनताको उत्साहजनक सहभागिता हो । पार्टी पंक्ती एकतावद्ध र सक्रिय हुने हो भने एमालेलाई कसैले पनि हराउन सक्नै छैन । यस अभियानमा केन्द्र र प्रदेशबाट दिशा निर्देशन गर्ने केन्द्रीय नेतृत्व र जिल्लामा कोरोना, हुरी-बतास, पानी भोक तिर्खा केही नभनी खट्ने सहयोद्धा साथीहरूको सामूहिक पहलबाट मात्रै हामीले यो काम सम्पन्न गर्न सफल भएका हौं । सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

(लेखक नेकपा एमाले बाँकेका निवर्तमान अध्यक्ष हुनहुुन्छ)