अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

मुख्य समाचार

जनगणनामा सुपरभाइजरको भूमिका के ?


कोरोना संक्रमणका कारण देश आक्रान्त भएपछि स्थगित भएको जनगणना पुनः सञ्चालन शुरू भएको छ । २१ भदौ २०७८ मा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना–२०७८ को नयाँ कार्यतालिका स्वीकृत गरेपछि जनगणनाको काम युद्ध स्तरमा अघि बढेको हो । फलस्वरूप आजदेखि देशैभरी घर तथा घरपरिवार सूचिकरण फारम भर्नका लागि करीब ८ हजार सुपरभाइजर घर–घरमा पुग्दैछन् । यी सुपरभाइजरहरू भदौ ३० गतेदेखि असोज १८ गतेसम्म (२० दिन) घर र घरपरिवारको सूचिकरणका लागि मुलुकका हरेक नागरिकको घर–दैलोसम्म आइपुग्दैछन् ।

को हुन् सुपरभाइजर ?

जनगणना सञ्चालनको कार्यमा महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अभिभारा बोकेका कर्मचारीको रूपमा सुपरिवेक्षकहरू रहेका हुन्छन् । राष्ट्रिय जनगणना–२०७८ को महाअभियानलाई सफल पार्न पहिलो पटक उत्तरदाताको घर तथा परिवारको आँगनमा पुग्ने सम्पर्क सूत्र सुपरीवेक्षक हुन् । ८ हजार जना सुपरीवेक्षक करीब ७० हजार घरपरिवारमा भदौ ३० देखि असोज १८ गते भित्र आइपुग्दैछन् । सुपरिवेक्षकले तयार गरेको आधारमा टेकेर नै गणकहरूले कार्य गर्नुपर्ने भएकाले विश्वसनीय, होसियारी एवं जिम्मेवारीपूर्वक घर तथा घरपरिवारको सूचिकरण लगायतका कार्यहरू गर्नुपर्ने हुन्छ । तथ्याङ्क ऐन, २०१५ र राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने अधिकार प्राप्त व्यक्ति नै सुपरभाइजरहरू हुन् । तथ्याङ्क ऐन, २०१५ अन्तर्गतको आदेशबमोजिम नियुक्त सुपरभाइजरहरूको काम र कर्तव्य स्पष्ट गरिएको छ । राम्रो काम गरेवापत् पुरस्कार अनि काममा हेलचेक्रयाई तथा बदनियतपूर्वक कार्य गरेमा सजायको समेत व्यवस्था गरिएको छ ।

सुपरभाइजर किन राखिन्छ ?

जनगणनामा सुपरभाइजर राख्ने कार्य नौलो होइन । हरेक जनगणनामा तथ्याङ्क संकलनको कार्यमा गणकहरूको सुपरिवेक्षण गर्न तथा घर तथा घरपरिवारको सूचिकरण गर्न सुपरिवेक्षकहरू नियुक्त गर्ने प्रचलन रहिआएको छ । नेपालको पहिलो वैज्ञानिक तवरले संचालित पाँचौं जनगणना सन् १९५२/५४ मा करीब २०० जना सुपरिवेक्षकहरू नियुक्त गरी सुपरिवेक्षणको कार्य गर्न लगाइएको थियो भने सन् १९६१ को जनगणनामा प्रत्येक जिल्लामा स्थानीय व्यक्तिहरूबाट जनगणना सुपरिवेक्षकमा भर्ना गरिएको थियो । यसरी नै सन् १९७१ को जनगणनामा करीब ५०० जना सुपरिवेक्षक खटाइ गणना कार्य सम्पन्न भएको थियो । सन् १९८१ मा सञ्चालित गणनामा सुपरिवेक्षकहरूलाई सुपरिवेक्षक र सहायक सुपरिवेक्षक गरी दुई वटा समूहमा विभाजन गरिएको पाइन्छ । सो जनगणनामा १५० सुपरिवेक्षक र एक हजार ५०० सुपरिवेक्षकहरू संलग्न थिए । सुपरिवेक्षक र गणकको अनुपात १ः१० रहेको थियो; अर्थात् एक जना सुपरीवेक्षकले १० जना गणकको अनुगमन गर्नु पर्दथ्यो ।

नेपालमा प्रजातन्त्रको पुनर्बहालीपश्चात् पहिलोपल्ट सञ्चालित सन् १९९१ को जनगणनामा प्राथमिक तहका शिक्षकहरूलाई गणक र निम्नमाध्यमिक तथा माध्यमिक तहका शिक्षकहरूलाई सुपरिवेक्षकका रूपमा खटाइएको थियो । यो जनगणनामा चार हजार सुपरिवेक्षकहरू संलग्न रहँदा सुपरिवेक्षक–गणकको अनुपात १ः५ रहेको थियो । त्यस्तै, सन् २००१ को जनगणनामा २९४ जना इलाका सुपरिवेक्षकहरू तथा ४ हजार ९२६ जना जनगणना सुपरिवेक्षकहरू नियुक्त गरिएको पाइन्छ । यो जनगणनामा पनि सुपरिवेक्षक–गणकको अनुपात १ः५ नै रहेको थियो ।

जनगणनाको महाअभियानमा अवसर तथा जिम्मेवारी पाइ फिल्ड कार्यमा खटिने पहिलो व्यक्ति भएकाले सुपरभाइजरहरूमा राष्ट्रिय जनगणनाको आवश्यकता तथा महत्वसम्बन्धी जानकारी, गणनाको कार्यसम्बन्धीको स्पष्ट बुझाइ, आफ्नो काम, कर्तव्यप्रति पूर्ण सजग, सरल र स्पष्ट रूपमा बोल्ने बानी, स्थानीय भाषाको ज्ञान, कार्यक्षेत्रको भौगोलिक ज्ञान, स्फूर्त तथा चनाखो रहने, नम्र स्वभाव, निश्पक्ष एवं अनिवार्य रूपमा तथ्याङ्क तथा सूचनाहरूको गोपनीयता कायम गर्नसक्नुपर्ने लगायतका कुराहरूमा विशेष ध्यान पुर्‍याउनु जरूरी छ ।

सन् २०११ मा सञ्चालन गरिएको ११औं जनगणनामा ८० जना केन्द्रबाट खटिएका इलाका सुपरिवेक्षक, १९८ जना जिल्लाबाट खटिएका इलाका सुपरिवेक्षक, ७ हजार ९०९ जना गणना सुपरिवेक्षकहरू परिचालन गरी सूचिकरण फाराम मार्फत् हरेक घरपरिवारको लगत संकलनको कार्य सम्पन्न गरिएको थियो । मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक सञ्चालन हुने यो १२औं जनगणनामा करीब ८ हजार सुपरिवेक्षकहरू प्रयोग गरिंदै छ । स्नातक उत्तीर्ण, बेरोजगार युवायुवतीहरूलाई अनलाइन आवेदन मार्फत् सुपरिवेक्षकमा भर्ना गरिएकोले यस अघिका जनगणनामा भन्दा यो पटकका सुपरिवेक्षकहरू बढी समावेशी, कम उमेरका तर युवा उमेर समूहका रहेका छन् ।

सुपरभाइजरहरूले गर्नुपर्ने कार्यहरू के-के छन् ?

जनगणनामा तथ्याङ्क संकलनको कार्यलाई दुई चरणमा सञ्चालन गरिन्छ । पहिलो चरणमा, सुपरिवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सूचिकरण फारम मार्फत् घर, घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य संख्या र परिवारको कृषि सम्बन्धी विवरण, परिवारबाट सरकारी अनुदानमा आवासीय घर निर्माण, परिवारका सदस्यको बैंक खाता, प्राविधिक तथा व्यावसायिक सीप, बैंक तथा बित्तिय संस्थाबाट लिएको ऋण सम्बन्धी विवरणहरू संकलन गरिन्छ ।

घर तथा घरपरिवार सूचिकरण फाराम वि.सं. २०७८ साल भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म जम्मा २० दिन भर्नुपर्ने कार्यतालिका रहेको छ । यसका लागि तालिम लगत्तै सुपरभाइजरहरू गणना क्षेत्रमा खटिएका छन् । गणनाको कार्य शुरू गर्नु पूर्व आफ्नो गणना क्षेत्रको पहिचान गरी भ्रमण गर्ने, नक्शा अध्ययन गरी अध्यावधिक गर्ने साथै गणना क्षेत्रभित्र पर्ने कुनैपनि घरपरिवार नछुटोस् भनी अत्यन्त सावधानी अपनाउनु पर्ने हुन्छ । सूचिकरणको कार्यसम्पन्न गरिसकेपछि सुपरभाइजरहरूले घरपरिवार सूचिकरण उतार फाराम दुईप्रति उतार गर्नु पर्दछ र सो को एक प्रति गणक र एक प्रति आफैंसँग राखी प्रभावकारी सुपरिवेक्षण गर्नुपर्दछ ।

दोस्रो चरणमा, सुपरभाइजरबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत् वडास्तरको आधारभूत स्रोत–साधन, क्षमता, पूर्वाधार र विपत्सम्बन्धी विवरण संकलन गरिन्छ । जनगणनाको इतिहासमा पहिलो पटक समावेश गर्न लागिएको यो सामुदायिक प्रश्नावलीलाई जनगणनामा खटिएका सुपरिवेक्षकले भर्नुपर्ने हुन्छ । यो प्रश्नावली एउटा वडामा एउटा मात्र भरिने भएकाले एउटा वडामा एक मात्र सुपरिवेक्षक खटिएको अवस्थामा निजले नै यसलाई भर्नुपर्दछ । यदि एउटा सुपरिवेक्षकको कार्य क्षेत्र एकभन्दा बढी वडा भएमा सबै वडामा गइ यो सामुदायिक प्रश्नावली भर्नुपर्दछ । यसैगरी एउटा वडामा एकभन्दा बढी सुपरभाइजर खटिएका छन् भने उक्त वडा कार्यालय रहेको गणना क्षेत्रमा खटिएका सुपरभाइजरले भर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

संघीय राज्यको भावी विकासको मार्गचित्रको आधार स्तम्भका रूपमा रहने आगामी जनगणनाका लागि हरेक घर परिवारमा राज्यको प्रतिनिधिको रूपमा पहिलो पटक पाइला टेक्ने सुपरिवेक्षकहरू सदैव निष्पक्ष, तटस्थ, जिमेवारीबोधयुक्त, समझदार, धैर्य, नम्र स्वभावयुक्त एवं फिल्ड कार्यमा आइपर्नसक्ने सबैखाले समस्याहरूको समाधान सिर्जनात्मक ढंगले खोज्न सक्ने जुझारू हुनु अपरिहार्य छ ।

मुख्य गणनाको समय (कात्तिक २५ देखि मंसीर ९) अवधिमा मात्रै भर्नुपर्ने यो प्रश्नावलीलाई एउटा वडामा जति जना सुपरिवेक्षकहरू खटिएका छन्, तिनीहरू सबैको अनिवार्य उपस्थिति हुनै पर्ने व्यवस्था गरिएको छ । वडाको वडा अध्यक्ष, वडा सचिव वा दुबै प्रमुख उत्तरदाता रहने यो सामुदायिक प्रश्नावली फाराम भर्दा आवश्यकतानुसार सो वडामा रहेका सरकारी अभिलेखहरूलाई उपयोग गर्नुका साथै सम्बन्धित वडाका सदस्यहरू तथा सम्बन्धित व्यक्तिहरूबीच छलफल गरी विवरण उल्लेख गर्नुपर्ने छ ।

सुपरिवेक्षकहरूले आफूलाई खटाइएको स्थानमा गइ तोकिएका विवरणहरू संकलन गरी निद्र्धिष्ट फारामहरू भर्नुपर्ने, दैनिक कार्यतालिका बनाइ गणकले गरेका कार्यको सुपरिवेक्षण गर्ने तथा तथ्याङ्कको शुद्धता जाँच गर्ने, गणकहरूको तालिम, स्थलगत कार्य विभाजन र गणना क्षेत्र नक्शाको प्रयोगमा सहयोग गर्ने, संकलित विवरणको सूचना नियमित रूपमा सम्बन्धित जनगणना कार्यालयलाई जानकारी गराउने तथा घर र घरपरिवार सूचिकरण फारामको प्रतिलिपी उतार गरी गणकलाई उपलब्ध गराउने जस्ता कार्यहरू सुपरिवेक्षकका हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश–२०७६ मा उल्लेख गरिएको छ ।

सुपरभाइजरहरूको नम्र भाषा सही तथ्याङ्कको आधार

सुपरभाइजरहरूले स्थलगत कार्य शुरू गर्नु पूर्व व्यापक तयारी गरी गणना क्षेत्रभित्रका कुनै पनि घर र घरपरिवार नछुटोस् भनी विचार पुर्‍याउनु पर्ने हुन्छ । जनगणनाको महाअभियानमा अवसर तथा जिम्मेवारी पाइ फिल्ड कार्यमा खटिने पहिलो व्यक्ति भएकाले सुपरभाइजरहरूमा राष्ट्रिय जनगणनाको आवश्यकता तथा महत्वसम्बन्धी जानकारी, गणनाको कार्यसम्बन्धीको स्पष्ट बुझाइ, आफ्नो काम, कर्तव्यप्रति पूर्ण सजग, सरल र स्पष्ट रूपमा बोल्ने बानी, स्थानीय भाषाको ज्ञान, कार्यक्षेत्रको भौगोलिक ज्ञान, स्फूर्त तथा चनाखो रहने, नम्र स्वभाव, निश्पक्ष एवं अनिवार्य रूपमा तथ्याङ्क तथा सूचनाहरूको गोपनीयता कायम गर्नसक्नुपर्ने लगायतका कुराहरूमा विशेष ध्यान पुर्‍याउनु जरूरी छ । यस प्रकारका सावधानीहरू अपनाएमा उत्तरदाताले सही सूचना दिन हिचकिचाउदैनन् ।

पहिलेका सुपरभाइजर : अहिलेका सुपरभाइजर

यस अघिका जनगणनाहरूमा सुपरिवेक्षकहरूलाई घर परिवारको सूचिकरण गर्ने कार्यमा मात्र सीमित गरिएको थियो भने यस पटकको जनगणनामा उनीहरूलाई थप भूमिका प्रदान गरी जिम्मेवार बनाउन खोजिएको छ । कार्य तथा जिम्मेवारीका हिसाबले यो जनगणनामा खटिने सुपरिवेक्षकहरूले घर र घरपरिवारको सूचिकरण फाराम भर्ने, सामुदायिक प्रश्नावली भर्ने, अनलाइनमा दैनिक सर्वेक्षण विवरणहरू (घर संख्या, जनगणना घर संख्या तथा जनगणना परिवार संख्या) प्रविष्ट गर्ने तथा गणकको पहिलो सुपरिवेक्षणकर्ताको रूपमा भूमिका निर्वाह गर्नुपर्ने छ ।

अन्त्यमा

राष्ट्रिय जनगणना–२०७८ को महाअभियानमा अवसर तथा जिम्मेवारी पाइ फिल्ड कार्यमा खटिने पहिलो व्यक्तिको रूपमा सुपरिवेक्षकहरू हुन्छन् । उनीहरूले उत्तरदाताहरूसँग गर्ने व्यवहारले संकलन गरिने सूचनाको शुद्धता तथा विश्वासनीयता निर्भर रहने हुन्छ । संघीय राज्यको भावी विकासको मार्गचित्रको आधार स्तम्भका रूपमा रहने आगामी जनगणनाका लागि हरेक घर परिवारमा राज्यको प्रतिनिधिको रूपमा पहिलो पटक पाइला टेक्ने सुपरिवेक्षकहरू सदैव निष्पक्ष, तटस्थ, जिमेवारीबोधयुक्त, समझदार, धैर्य, नम्र स्वभावयुक्त एवं फिल्ड कार्यमा आइपर्नसक्ने सबैखाले समस्याहरूको समाधान सिर्जनात्मक ढंगले खोज्न सक्ने जुझारू हुनु अपरिहार्य छ । यस महाअभियानमा सहभागी हुन पाउने यो महत्वपूर्ण अवसरलाई फलदायी एवं उपलब्धिमूलक बनाउन सबै सुपरिवेक्षकहरू दत्तचित्त भएर लागि समृद्ध राष्ट्र निर्माणको हिस्सेदार बनी अपनत्व कायम गर्न सफल हुनु अहिलेको अपरिहार्य आवश्यकता हो ।

(लेखक जनगणनाका लागि प्रदेश नं. १ प्रदेशस्तरीय मुख्य प्रशिक्षक हुनहुन्छ ।)