अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

आजको बहस

उ बेलाको चाडवाड


हाङपाङ, जहाँ म जन्मे, हुर्कें, बढें, पढें अनि जीवनको आधा उमेर त्यहीं बिताएँ । समय चक्रसँगै जीवनलाई पनि त डोहोर्‍याउनु पर्दो नै रहेछ । त्यसैक्रममा अहिले मेरो हाङपाङभन्दा अलिक टाढै पुगेको छु । तर, भौतिक तथा शारीरिक रूपमा टाढा भएपनि मानसिक रूपमा मेरो जन्मभूमि हाङपाङ सधैं नजिक नै रहेको छ । नहोस् पनि किन, जहाँ मेरो जीवनका अति नै ऊर्जावान ४४ वसन्तहरू अनुभव र अनुभूतिसहित गुज्रेका छन् ।

टिम्मुर टिप्दा काँडाले घोच्दा…
बाल्यावस्था, किशोरावस्था अनि यौवनावस्थाका विविध रमाइला पल, अनुभव अनि अनुभूतिहरू बेलाबेलामा झल्झली मानसपटलमा आइरहन्छन् । बाल्यकालमा स्कूल, खेतका गह्रा, घर छेउको स्वास्थ्य चौकीको चउमा गुच्चा, झुम्राको गोल, भोगटेको गोल खेलेका अनि भालेजुधाइ खेलेका पलहरू नमेटिने गरी छाप बनेर बसेका छन् । चाराने, विमिरे, टाहारी, आरूबोटे, बाह्रपाथे, जामुने खेत लगायत बान्द्रेथुम्की, सिमलडाँडातिर हिउँदको समयमा स्कूल छुट्टी भएको दिनमा गाई, बाख्रा चराएको अनि डण्डीबियो, गट्टी खेलेको, दिउँसो भोक लाग्दा सिमलबोटेको सिमलका कोसा, खेतको भित्तातिर उम्रिएका पानीअमला, खहरेतिरका अंगेरी खाएको स्वाद पनि कहाँ बिर्सेको छु र ! मौसमअनुुसार सुन्तला, आरुबखडा, आरु, भोगटे, ऐंसेलु, काठेबर, बांगेकाठ खाएको अनि तल जंगलको चौतारो मास्तिरको जामुन, विमिरे अनि चाराने खेतको अम्बाको स्वाद साथै चाराने खोल्सी, खहरे खोल्सी अनि पर स्याल पाखामा डौंठे निगुरो टिप्न जाँदाको पलहरू सम्झँदा पनि मन त्यसै प्रफुल्लित भएर आउँछ । तल टिम्मुरे खेत, चाराने खोल्सी पारीको खेतमा भएको टिम्मुरको बोटबाट टिम्मुर टिप्दा काँडाले घोचेको डोबहरू औंलामा अहिले पनि होलान् ।

ढाड नदुखोस् भनेर आमाले आफ्नो पुरानो सुतीको गुन्यूलाई च्यातेर बनाइदिनु भएको पटुका बाँधेर आली लगाएको, रोपाइँमा बाउसे गरेको, धानको बीउ डोकामा बोकेको, रोपाहारहरूलाई ताकीताकी बीउका मुठा फ्याँकेको, हिलो छ्यापेको अनि कहिलेकाहिँ खाडल खनेर रोपाहारहरूलाई डुबाएको घटनाहरू सम्झँदा ती दिनहरू फेरि आए त हुन्थ्यो नि जस्तो लाग्छ ।

गाउँघरको बसाइ गाईवस्तु, बाख्रापाठा लगायतका चौपाया पनि त पालिएका थिए नि ! पर ज्यामिरे, तल विमिरे, चाराने, जामुने, आरूबोटे, सीमखेत, भर्‍याङ लगायतका खेतबाट बोकेका घाँसका भारीले पनि ती दिनहरूलाई झक्झकाउँछ बेलाबेलामा । बिहानै घाँस काट्न गयो, ९ बजेतिर घर पुगेर चिसै लुगामा खाना खायो अनि हतारहतार कपडा फेरेर स्कूल दौडियो यस्तै थियो स्कूले उमेरको दैनिकी । बेलुका छुट्टी भएर घर आयो अनि भुटेका मकै–भटमास, पोलेका मकै, बिहानको उब्रेको भात, रोटी जे जस्तो छ, खाजा खायो अनि फेरि उही घाँस, सोत्तरको जोहोमा लाग्नु पर्ने । धेरैजसो त गोजीमा, टोपीमा समेत खाजा बोकेर खाँदै पनि गइन्थ्यो । वर्षामा घाँस काट्न जाँदा जुकाले टोकेर रगताम्य हुन्थे हात–खुट्टा तर पनि वास्ता हुँदैन्थ्यो । ठूलो ठेकीमा पारेको मोही बिहानै एक लिटर जति पिउँदा शरीर नै रसिलो र चंगा भएको भान हुन्थ्यो अनि बेग्लै स्फूर्ति आउँथ्यो । अहिलेको कृतिम चिसो पेय पदार्थले के भेट्थ्यो र त्यसलाई ।

आली लगाँउदा आमाले बाँधिदिएको पटुकी
जेठ महीनामा धानको ब्याड राख्ने देखि आली ऐंचला गर्दाको क्षण सम्झँदा आफू अहिले पनि त्यही ठाउँमा छु भन्ने भान पर्छ । असारको चटारो उस्तै हुन्थ्यो । भोर्लाका पातले छापेका घुम बोकेर हिलोआली अनि रोपाईंमा गएको, दिउँसो चिसो आलीमा त्यहीं घुम ओछ्याई बसेर अनि झरी परिरहेको दिनमा हो भने घुम ओडेर टुक्रुक्क खेतका आलीमा बसेर कहिले चाम्रे र तरकारी, कहिले पोलेका हरिया मकै र नुनखोर्सानी अनि तरकारी, नून, टिम्मुर हालेको रातो चिया खाँदाको क्षण सम्झँदा पनि डोहो¥याएर उतै नै पु¥याउँछ । घुम किन्नलाई पनि झण्डै पाँच घण्टा हिडेर रामद्वाली बजार पो पुग्नु पथ्र्यो । अनि भोर्लाको पात लिनलाई भने तल जंगलतिर । बुबाले मेहनतसँग छापिदिनुभएको घुमले झरीमा पानीबाट भिज्नलाई त जोगाउँथ्यो नै शरीर पनि न्यानो बनाउँथ्यो, शायद बुबाको माया पनि मिसिएर होला । पछिपछि त घुमको चलन नै हराउन थाल्यो । प्लाष्टिकले विस्थापन गरिदियो घुमलाई । ढाड नदुखोस भनेर आमाले आफ्नो पुरानो सुतीको गुन्यूलाई च्यातेर बनाइदिनु भएको पटुका बाँधेर आली लगाएको, रोपाईमा बाउसे गरेको, रोपाईमा धानको बीउ डोकामा बोकेको, रोपाहारहरूलाई ताकीताकी बीउका मुठा फ्याँकेको, हिलो छ्यापेको अनि कहिलेकाही खाडल खनेर रोपाहारहरूलाई डुबाएको घटनाहरू सम्झँदा ती दिनहरू फेरि आए त हुन्थ्यो नि जस्तो लाग्छ । आमाको गुन्यूका पटुकाले ढाडलाई धेरै नै भरोसा त दिन्थ्यो नै साथै आमाको ममता पनि त साथमा नै छ भन्ने आभाष पनि दिलाइरहन्थ्यो र काममा जाँगर पनि आउँथ्यो । गाउँघरमा पर्म गरेर काम गर्ने कति राम्रो चलन थियो । खेतबारीमा मकै भाँच्दै डोकोमा बोकेको अनि साउन–भदौ महीनामा परिरहने सिमसिमे झरी पानीमा कोदोको बीउ उखेल्दै डोकोमा बोकेर रोपाहार भएको ठाउँमा पनि नपु¥याएको कहाँ हो र ? कोदोको बीउ उखेल्ने जिम्मा चाहिं प्रायः मेरै भागमा पो पथ्र्यो त । सानो छँदा साउने संक्रान्तिमा हातमा तिउरे लगाएर बाहिरबाट फर्सीको पात अनि कपडाले बेरेर हात सक्सकाउँदै सुतेको रातमा बाँधेको कपडा राती नै फुस्किने पो हो कि भन्ने त्राही सानो हुन्थ्यो र ? कतिबेला बिहान हुन्छ र तिउरेको रंग कतिको गाढा बस्यो भनेर हेर्नलाई कम्ता खसखस हँुदैनथ्यो । अरूको भन्दा गाढा रंग बसेको रहेछ भने त्यसै मख्ख पो परिन्थ्यो त ।

दसैंमा गाउँ छिमेकी मिलेर पर खुवा खोलाबाट कमेरो, चोकपुरबाट रातो माटो ल्याउने, बावियोको जोहो गरेर लठारो बाट्ने अनि लिंगे पिङ हाल्ने काम सामूहिक रूपमा हुने गर्थ्यो ।

दसैंमा खुवा खोलको कमेरो र चोपुरको रातमाटो
दसैंको रौनक त अझ मज्जाको नि ! धान गोड्ने काम सकेसँगै दसैंको चटारो हुने । कमेरो खन्न जाने, रातो माटो खन्न जाने, टालटुल गर्ने लिस्याइलो माटोको व्यवस्थापन गर्ने, गाउँघरका बाटो फाँड्ने, मर्मत गर्ने काम भ्याइ नभ्याई हुन्थ्यो । दसैंमा गाउँ छिमेकी मिलेर पर खुवा खोलाबाट कमेरो, चोकपुरबाट रातो माटो ल्याउने, बावियोको जोहो गरेर लठारो बाट्ने अनि लिंगे पिङ हाल्ने काम सामूहिक रूपमा हुने गथ्र्यो । बाटो फाँड्ने र मर्मत गर्ने कामको जिम्मेवारी प्रत्येक टोललाई दिइएको हुन्थ्यो । सबैको मन मिल्थ्यो, बेलैमा काम सम्पन्न हुन्थ्यो । दुख त हुन्थ्यो तर सँगसँगै पाइने आनन्दले त्यो दुःखलाई बिसाइदिन्थ्यो । के गर्नु र अहिले त डोजर युग आइसकेछ गाउँघरतिर पनि अनि ती पुराना बाटोहरू कता वेपत्ता भइसकेछन् । बाटो सफाइ गर्ने पद्धति नै हराइसकेछ । दसैंमा प्रयोग हुने हातहतियारमा घरमा नै साँध लगाएको, दर्जीले घरमा आएर नै लुगा सिलाइ दिएको क्षणहरू पनि कहाँ पो बिर्सेको छ र ? अहिलेको जस्तो तयारी लुगाहरूको चलन त्यति धेरै थिएन । बजारबाट कपडा किनेर ल्याइ सिलाएर लगाउनु पर्ने । दर्जीको छेउमा आफ्नो लुगा सिलाउने पालो कतिबेला आउँछ भनेर ढुकेर बसिन्थ्यो । आफ्नो लुगा सिलाउने पालो पहिला आइदिए हुन्थ्यो नि भन्ने लागिरहने । नयाँ लुगा लगाएर आफन्तकोमा टीका थाप्न जाँदा, लिंगे पिङ अनि तल पञ्चमीमा थापिएको रोटेपिङ खेल्न जाँदाको आनन्दको खोइ कसरी बयान गर्ने र ?

गाउँघरका ढिकीहरू खूब व्यस्त हुन्थे । रातीदेखि ढिकीमा चिउरा कुटेका ढुकढुक आवाजहरू आउँथे । कस्को घरमा चिउरा कुट्न थाले भन्ने कुरा ढिकीको आवाजबाटै थाहा हुन्थ्यो नि । आफ्नै घरमा पनि रातीबाटै चिउरा कुट्ने तारतम्य हुन्थ्यो । हामी सानासानाको काम चाहिँ धान भुट्ने हुन्थ्यो । आगोको न्यानोमा कुनै बेला त धान भुट्दाभुट्दै निन्द्रा पनि आईहाल्ने । बेलाबेलामा आमाहरूले भुसैसँगका चिउराका लट्टा दिनुहुन्थ्यो । तातोतातो लट्टाहरू कति मीठो हुन्थ्यो । एकछिन निन्द्रा पनि हराउँथ्यो । तल मिचिरिङ, माखातोपतिर केराको जोहो पहिला नै गरिएको हुन्थ्यो । केरा लिनलाई बोरा बोकेर गइन्थ्यो । ठेकीको दही, ढिकीमा कुटेका चिउरा अनि पाकेका केरा हातले मज्जाले मुछेर चाटीचुटी पारेर खाँदा आहा क्या स्वादिलो हुन्थ्यो । दसैंकै बेलामा ज्यामिर, कागती, जल्लिविर पेल्ने चटारो पनि हुन्थ्यो । काठको कोलमा कागती, ज्यामिर पेल्दा चार–पाँच दिनसम्म भुँडीका लाम्टा दुखेर हैरान नि । घरमा कमेरो छ्याप्ने, रातो माटोले लिप्ने, टालटुल गर्ने, झ्याल ढोकामा रंगको विकल्पमा मट्टितेलको बत्तीको कालो गाजल, पुराना बेट्रीहरूको कालो भागबाट बनाइएको रंग लगाउने लगायतका नानाथरीका कामहरू हुन्थे । घरका सबैजना मिलेर काम पूरा गरिन्थ्यो ।

फूलपातीका दिनदेखि टोलका प्रत्येक घरमा पालैपालो खसी काट्ने काम हुन्थ्यो, मार हान्ने काम हुन्थ्यो । दसैंको लागि भनेर एक–दुई महीना अगाडि देखि नै खसी पोस्ने गरिन्थ्यो । बलियो खसीको बोसो, कान अनि मासु पोलेर खानुको मज्जा नै बेग्लै हुन्थ्यो । टीकाको दिन कुलपूजाको लागि वरपरका बन्धुहरू धुप अक्षता, बोकाहरू लिएर भेला हुने चलन थियो । बिहानदेखि नै हतार हुने नि त्यस दिन त । पहिला पहिला त पूजाकोठामा नै कुलपूजा गरिन्थ्यो रे तर मैले थाहा पाउँदा भने भित्र चुलाको छेउमा थान बनाएर पूजा गरिन्थ्यो । बन्धुहरूको परिवार धेरै हुँदा त हाम्रो बुबाले मात्र १२० वटा सम्म बोका पाठाहरू काट्नु भएको थियो रे घँुडा टेकेर तर पछिपछि त्यो संख्या कम हुँदै गयो । कुलपूजाको काम सकेर निधारभरि टीका र जमरा लगाएर अन्य मान्यजनहरूकहाँ टीका थाप्न गएको क्षणहरू झल्झली आइरहन्छ । साइली मतारीले बनाउनु भएको स्कूसको तरकारी र चिउराको स्वाद पनि भूलेको छैन । अब त त्यो प्रकारको सम्बन्ध र आत्मीयतामा पनि निरन्तर ह्रास आउन थालेको पो हो कि भन्ने लाग्न थाल्यो ।

फूलपातीका दिनदेखि टोलका प्रत्येक घरमा पालैपालो खसी काट्ने काम हुन्थ्यो, मार हान्ने काम हुन्थ्यो । दसैंको लागि भनेर एक–दुई महीना अगाडि देखि नै खसी पोस्ने गरिन्थ्यो । बलियो खसीको बोसो, कान अनि मासु पोलेर खानुको मज्जा नै बेग्लै हुन्थ्यो ।

तिहारको रमझमको त झन के कुरा गर्नु र ? सेलरोटी पकाउनका लागि भनेर अलिक अगाडि नै तोरी पेल्ने काम हुन्थ्यो । तोरी पेल्ने मीलहरूको सुविधा थिएन । तोरी पेल्ने काम पनि खूब मज्जा आउने । ढिकीमा तोरी कुटेर कराइमा भुटेर बाँसको चोयाबाट बुनेको पेचामा राखी तेलधारीमा राखी माथिबाट लामो काठको फल्याकले थिचेर तात्तातो तेल निकालिन्थ्यो । काग, कुकुर, गाई, गोरु अनि भाइ पूजा गरिने तिहारमा बारीको डिलमा, फूलबारीमा रोपिएका सयपत्री, मखमली, गोदावरी, लालुपाते फूल टिपेर घरका झ्याल ढोका, तामाका गाग्री, भाँडाकुँडामा माला लगाउन निकै नै धावा हुन्थ्यो । लक्ष्मी पूजाको दिन केराका दाम्चा काटेर त्यसमा तेलमा भिजाएका बत्ती राखी बालिन्थ्यो । अहिलेको जस्तो मैनबत्ती, बिजुलीबाट बल्ने झिलिमिली बत्तीको चलन कहाँ हुनु ? बिजुली बत्तीको सुविधा पनि पो कहाँ थियो र गाउँघरमा ? ढिकीमा कुटेको चामलको पिठोबाट सेलरोटी पकाउँदै गर्नुहुने आमाको छेउमा बसेर खाएको तात्तातो रोटीको स्वाद बिर्सेर पनि भूल्न सकिन्न नि । भैली–देउसी खेल्नलाई बेलुका छिट्टै खाना खाएर समकालिन केटाकेटीहरू अँध्यारोमा नै हिडिन्थ्यो । राँको वा पुल्ठोको पनि व्यवस्था हुन्थ्यो । भट्याउने, पैसा बोक्ने, चामल बोक्ने जिम्मेवारी पहिला नै निर्धारण गरिएको हुन्थ्यो । भैली, देउसी खेलिसकेपछि पैसा अनि चामलको भागबन्डा हुन्थ्यो । भट्याउनेको भागमा अलिक बढी पैसा पथ्र्यो । उ बेलामा पैसा नै कति पो जम्मा हुन्थ्यो र ? साना–साना केटाकेटीलाई पाँच पैसादेखि एक रूपैया सम्म दिन्थे । जम्मा रु. ५÷१० रूपैया हुन्थ्यो होला तर साह्रै महत्वपूर्ण कमाई लाग्थ्यो ।

लुङघारीका धान ओसार्दा ढाड दुख्ने बिराम निस्कियो
मंसीर लागेपछि धान काट्ने, बिटा लगाउने, थन्काउने धावा पर्ने । सबैको धान एकैपटक जस्तो पाक्ने हुनाले असार भन्दा मंसीरमा बढी धावा पथ्र्यो । दिनमा मात्र धान काट्ने काम नभ्याउँदा जुनेली रातको बिहानीपख पनि गाउँघरका छिमेकीहरू एकापसमा पर्म गरेर धान काटेको सम्झना पनि त आइरहन्छ । कति रमाइलो हुन्थ्यो । सीमखेत, भ¥याङ खेत, सयबुङ खेत लगायतका खेतहरूबाट थुन्से अनि टाउकोमा धानका बिटा बोकेको, घरको आँगनमा, खेतको खलामा दाइ गरेको, राशी पूजा गरेको, परालमा लुकामारी खेलेको सम्झना पनि त आउँछ नि । चुवाँपारीको घुमाउने अनि बिमिरे, चाराने, लुङघारी खेतबाट २५÷३० पाथी धानले भरिएका बोरा बोकेर उकालोमा खुईखुई गर्दै हिँडेको, परालका भारीहरू खेप लगाउँदै बोकेको कारणले पो हो कि अहिले पनि ढाड दुख्ने समस्याले बेलाबेलामा सताउने गर्छ । धान थन्काउने काम सकिने बित्तिकै कोदो टिपाइ र कुटाइको काम शुरू हुने नि फेरि ।

पर चुवाँखोला नजिकै क्षमा पूजा गर्ने चलन पनि त थियो नि । क्षमापूजाको मासु खोला तार्नु हुँदैन भन्ने मान्यता भएकोले कोलबोटे धारा भन्दा परतिरको चुचीढुंगा खेतमा टोलका सबै परिवारहरू भेला भएर खाना पकाएर खाइन्थ्यो । सबैको आ–आफ्नो चुलो बनेको हुन्थ्यो । कस्को चुलोमा मीठो पाक्यो भनेर चाख्दै बडो रमाइलोसँग खाइन्थ्यो । गाईवस्तु अनि बाख्रापाठाहरू पनि खेतमा चरिरहन्थे । वनभोज जस्तो जस्तो हुन्थ्यो । टोल छिमेकका परिवारको बीचमा कति निस्वार्थ सम्बन्ध थियो ? छलकपट, जालझेल कसैको मनमा थिएन । स्वच्छ मन थियो सबैको । अहिले त खोई त्यो सम्बन्ध कहाँ हरायो होला ? अचम्म लाग्छ मानिसमा स्वार्थी भावना किन र कसरी आउँदो होला ? हिजोका ती सुमधुर सम्बन्धमा किन दरार उत्पन्न भएको होला ? देवीपूजाको पाठाको मासुको स्वाद पनि भूल्न सकेको छैन । गोठधुपमा काग अनि कुकुरको भूमिका निभाउँदै खाएको खीर अहिले पनि जिब्रोमा झुण्डिएकै छ ।

यस्ता मेरो अनेकौं पल, घटना, भोगाइहरू धेरै छन् । जसले बारम्बार मलाई मेरो त्यहीं जन्मभूमिको याद आइरहन्छ । त्यहीको ढुंगामाटो, चिसो पानी, खेतबारी, त्यहीका छिमेकीहरूसम्म पुर्‍याइरहन्छ । चाहेर पनि अब त्यहाँ गएर विगतका ती क्षणहरूलाई आत्मसात गर्ने अवस्थामा छैन तर पनि ती क्षणहरूलाई भूल्न भने सक्दिनँ ।
(प्रसाईं, सरस्वी मावि हाङपाङका पूर्व शिक्षक हुनुहुन्छ)