अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

खेलकुद

धनकुटा, गोदावरी र गैँडाकोटको विजयी सुरुवात


काठमाडौं – धनकुटा नगरपालिका, कैलालीको गोदावरी नगरपालिका र गैँडाकोट नगरपालिकाले उपत्यकामा जारी उपमेयर कप राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् ।

बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा तीनवटै टोलीले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकालाई ५-० हरायो । यससँगै धनगढीले समूह ‘एच’मा महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

धनगढीको सहज जीतमा रेखा पौडेलले ह्याट्रिक गरेका छन् । त्यस्तै, चन्द्रा भण्डारी र सीमा रावलले समान १-१ गोल गरे ।

बुधबार सम्पन्न अन्य खेलमा गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्‍यो । जीतसँगै कैलालीको गोदावरीले समूह ‘जी’बाट ३ अंक बनाउँदै दोस्रो चरणको संभावना बलियो बनायो ।

यस्तै, अर्को खेलमा गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई १-० ले हरायो । जीतसँगै समूह ‘एफ’बाट महत्त्वपूर्ण ३ अंक जोड्दै अर्को चरण नजिक रह्यो ।

बिहीबार पहिलो खेल बिहान ९ बजे समूह ‘इ’अन्तर्गत सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच हुनेछ । सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहे पनि प्राविधिक कारणले रोकिएपछि खेल ११ गतेका लागि सारिएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

दिउँसो १२ बजे समूह ‘आई’अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कंचनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ ।

अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोसी गाउँपालिकाबीच हुनेछ ।