अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

अर्थ

पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने


पोखरा – बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी लगायतका विषयमा पोखरामा छलफल भएको छ । बिहीवारको छलफलमा दुवै ठाउँका पर्यटन व्यवसायीहरूले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहल गर्ने समझदारी भएको हो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालको निमन्त्रणामा बंगलादेशी टीम पोखरा आएको हो । छलफलका क्रममा पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले अझै धेरै पर्यटक पठाइदिन आग्रह गर्नुभएको छ । ‘बंगलादेश नेपालका लागि राम्रो पर्यटक आउने देश हो । कोभिड अघि उहाँहरूको भ्रमण धेरै हुन्थ्यो । खर्च पनि धेरै गर्ने पर्यटक आउँछन्,’ उहाँले भन्नुभयो, ‘अहिले सुस्ताएको छ । अब पनि धेरै पर्यटक पठाइदिन आग्रह गरेका छौँ ।’

व्यवसायीबीचमा विजनेस नेटवर्किङका हिसाबले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमणअघि वार्षिक २६ हजार बंगलादेशी पर्यटक नेपाल घुम्न आउँथे । अहिले मुस्किलले एक हजार ५०० जति छन् । पाता बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले पर्यटक पठाउन गाह्रो नपर्ने बताउनुभयो ।

‘यहाँ घुम्ने ठाउँहरू धेरै छन् । सुन्दर प्रकृति छ । पर्यटकहरू यहाँ आउन लालयित छन्,’ उहाँले भन्नुभयो, ‘खाली कोरोनाका कारण अप्ठ्यारोा परेको हो । अब विस्तारै मान्छेहरू घुम्न निस्किएका छन् ।’ उहाँले दुई देशबीच पर्यटकीय सम्बन्ध मजबुत बनाउनुपर्ने बताउनुभयो । पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी र संचराकर्मीसहित १८ जनाको टोली पोखरा आएको छ ।