अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

अर्थ

कफी उत्पादनमा कास्कीको लोभलाग्दो प्रगति


पोखरा – पछिल्ला दिनमा कफी संस्कृति निकै बढेको छ । सानादेखि ठूला सहरका चोकचोकमा कफी सप खुलेका छन् । बढ्दो कफी बजारका कारण गण्डकी प्रदेशका किसानहरू कफीमा भविष्य देख्न थालेका छन्। यहाँ बर्सेनी उत्पादन बढ्दै गएको छ भने आम्दानी पनि उक्लदो छ । पाँच वर्षअघि कास्कीमा ४० हेक्टर क्षेत्रफलमा कफी खेती हुने तथ्यांक थियो । अहिले १६१ हेक्टर हाराहारी जमिनमा खेती हुने तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेश कफी उत्पादनका हिसाबले नेपालमै दोस्रो धनी प्रदेश बनेको छ । नेपालभर नौ सय नौ हेक्टर क्षेत्रफलमा कफी हुँदै आएको छ ।

गण्डकीमा मात्रै वार्षिक ७६ मेट्रिक टन कफी उत्पादन हुन्छ भने १२ हजार ८९५ जना कफी किसान छन् । सबैभन्दा धेरै बागमतीमा ११६.१ मेट्रिक टन उत्पादन हुन्छ भने प्रदेश-२ मा कफी उत्पादन हुँदैन । सरकारी मूल्यका हिसाबले प्रतिकिलो कफी एक हजार रुपैयाँमा बिक्री हुन्छ । ‘गण्डकीमा उत्पादन भएको कफीमध्ये २५ प्रतिशत बाहिरै जान्छ । बाँकी पोखरा र काठमाडौंका क्याफेहरूमा खपत हुन्छ,’ चिया तथा कफी विकास बोर्ड गण्डकीका प्रमुख चन्द्र पुरीले भन्नुभयो, ‘नेपालको कफी विश्वबजारमा राम्रो माग हुन्छ । तर, अझै उत्पादन सोँचेजति हुन सकेको छैन् ।’

पर्यटकीय राजधानी पोखराका पसलहरूमा विदेशबाट भित्र्याएका कफी खपत हुन्छ । नेपालमा उत्पादन भएका कफी भने विदेश निर्यात हुन्छ । विशेषतः कोरिया, जापान, अमेरिका, जर्मन र अष्ट्रेलियालगायत देशमा यहाँको कफी निर्यात हुन्छ । विदेशबाट भने १५० मेट्रिक टन हाराहारी गण्डकी प्रदेशमा आयात हुन्छ । ‘हामीले विदेश पठाउँदा १३ देखि १५ डलर प्रतिकिलोमा बिक्री हुन्छ । विदेशबाट पाँच डलरमै आउँछ,’ उहाँले थप्नुभयो, ‘मूल्य राम्रो पाउन थालेपछि किसानहरू उत्साही छन् । उत्पादन बढ्दै गएको छ ।’ हरेक वर्ष गण्डकीले करिब आठ करोड रुपैयाँ आम्दानी गर्छ ।

‘केही वर्षअघिसम्म कफीको बोट उम्रिए पनि उखेलेर फालिदिन्थ्यौं,’ कास्की ढिकुरपोखरीका किसान कलाधर भुवाईंले भन्नुभयो, ‘अहिले किसानहरूले बुझ्न थाले । वर्षेनी नयाँ बिरुवा रोप्छन् ।’ ढिकुरपोखरीमा मात्रै पाँच हजारदेखि एक लाखसम्म आम्दानी गर्छन् । गोरखाका कफी किसान डिल्लीराम रेग्मीले व्यवसायिक खेती गरेका छन् । ‘सुरूमा कफी रोप्न खाल्डा खन्दा गाउँलेले बौलायो भन्थे । कसैको कुरा सुनिन्,’ विगत सम्झिँदै उहाँले भन्नुभयो, ‘अहिले राम्रो आम्दानी हुन थालेको छ । जाँगर भए विदेश जानु पर्दैन रहेछ ।’

गण्डकीमा कफीका लागि चाहिने अनुकुल हावापानी र जमिनका कारण यहाँको कफी विदेशी बजारमा समेत लोकप्रिय रहेको विज्ञहरू बताउँछन् । ‘यहाँको हावापानीमा कफीको उत्पादन निकै राम्रो हुन्छ,’ पुरीले भन्नुभयो, ‘सरकारको फोकस पनि यतै छ ।’ हरियो डलर र युरो भित्र्याउने नेपालको एउटा मात्रै बाली कफी हो । पछिल्लो समय कफीमा आकर्षित हुँदै गरेका किसान सिन्दुरे र तुसारोका कारण निराश छन् । गण्डकी प्रदेशभरी गतवर्ष कफी उत्पादन ९० प्रतिशतले घटेको थियो । ‘१८ देखि २२ डिग्री तापक्रम कफीको लागि उत्तम हो । यो वर्ष १० डिग्रीभन्दा पनि कम भयो,’ स्थानीय मनहर कडरियाले भन्नुयो, ‘पछिल्ला वर्षहरूमा ‘क्लाईमेट डिजास्टरु भैरहेको छ । क्षति बढी हुन थालेको छ ।’ नेपालबाट गतवर्ष करीब ४७ मेट्रिक टन कफी विदेश निर्यात भएको थियो । त्यसबाट नौ करोड ६० लाख भित्र्याएकोमा १० करोड ६७ लाखको कफी विदेशबाट आयात गरेको देखिएको छ ।

नेपालभर गएको वर्षमा २९६।५ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको थियो । पछिल्ला वर्षहरूमा विदेशी कफी आयातको आंकडा भने घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा पाँच करोडको कफी निर्यात भएकोमा ११ करोडको आयात भएको थियो । पछिल्लो वर्ष आयात र निर्यात करीब बराबर जस्तो छ ।