अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +977 9851107824
Admin: [email protected]
News: [email protected]

एमाले १० औं महाधिवेशन

कास्कीबाट ८९० गाडी एमाले महाधिवेशन चितवन प्रस्थान


पोखरा – नेकपा एमालेको १०औं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । गण्डकी प्रदेशबाट ९० हजार कार्यकर्ता चितवन झार्ने योजना रहेको संयोजक किरण गुरुङले बताउनुभयो ।

कास्कीका सचिव दामोदर वैरागीका अनुसार कास्कीबाट महाधिवेशनका लागि ८९० वटा गाडी सौराहा प्रस्थान गरेका छन् । २०५ वटा बस, ४५ वटा जिप, माइक्रो र भ्यान, १४० वटा निजी कार तथा पाँच सय वटा मोटरसाइकल सौराहा जानका सूचीकृत गरिएको उहाँले बताउनुभयो ।

‘रुपा गाउँपालिकाले १५ वटा गाडी लान्छु भनेको छ । मादी, माछापुच्छ्रे र अन्नपूर्णले पनि सूचि दिएको छ,’ उहाँले भन्नुभयो, ‘पोखरा महानगरका प्रत्येक वडाबाट पाँच वटा भन्दा बढी गाडी जाँदैछन् ।’ उहाँको आँकडा अनुसार १३ हजार हाराहारी कास्कीबाट उपस्थित हुने छ । मुस्ताङबाट चार वटा गाडी र मनाङबाट एउटा गाडी महाधिवेशन स्थलतर्फ गएको छ ।

गोरखा एमालेले कार्यकर्ता ओसार्नका लागि १०० वटा बस रिजर्भ गरेको जनाएको छ । त्यहाँबाट ५ हजार नेता कार्यकर्ता महाधिवेशनका लागि जानेछन् । म्याग्दीबाट ४० वटा गाडी रिजर्भ गरेर १५ सय जनालाई महाधिवेशनमा लैजाने तयारी छ । स्याङ्जाका प्रत्येक वडाबाट एउटा गाडी लैजानुपर्ने उर्दी छ । हिसाब गर्दा स्याङ्जाबाट ९७ गाडीले कार्यकर्ता ओसार्ने छन् ।

तनहुँबाट पार्टीले २५ र जनवर्गीय संगठनले ३–३ वटा गर्दा ५० वटा हाराहारी गाडी लैजाने तयारी छ । लमजुङबाट २० वटा, पर्वतबाट १५ र बागलुङबाट २० हाराहारी गाडी लगिँदै छ । तथापि सबैले दर्ता नगराएका कारण ठ्याक्कै तथ्यांक भन्न नसकिएको जिल्ला कमिटीले जनाएका छन् ।

नवलपुर नजिक भएकोले खासै हिसाब निकालिएको छैन । उनीहरू हिँडेरै वा कसैसँग सहयोग मागेर जान सक्ने भएकोले टाढाबाट आउनेलाई मात्रै रिजर्भ गाडीको व्यवस्था गरिएको प्रदेश संयोजक गुरुङले बताउनुभयो । तनहुँको पनि देवघाट क्षेत्रका स्थानीय आफ्नै हिसाबले जाने योजनामा छन् ।